• २०८३ जेष्ठ १५ | Fri, 29 May 2026

रासायनिक मलको निष्पक्ष तथा पारदर्शी बिक्री–वितरण गर्न भुम्लु गाउँपालिकाको निर्देशन

रासायनिक मलको निष्पक्ष तथा पारदर्शी बिक्री–वितरण गर्न भुम्लु गाउँपालिकाको निर्देशन

काभ्रे । भुम्लु गाउँपालिकाले रासायनिक मलको बिक्री–वितरणलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन सूचना जारी गर्दै अनियमितता नगर्न कृषि सहकारी संस्था तथा विक्रेतालाई निर्देशन दिएको छ ।

गाउँपालिकाले २०८३ जेठ १३ गते प्रकाशित सूचनामार्फत गाउँपालिका क्षेत्रभित्र रासायनिक मल बिक्री–वितरण गर्न अनुमति प्राप्त कृषि सहकारी संस्थाहरूले मलको मूल्यसूची सार्वजनिकरूपमा नराखेको, सहकारीका कार्यक्षेत्रभित्रका गैर–सदस्यलाई अनुदानको मल उपलब्ध नगराएको, अनाधिकृत व्यापारी तथा व्यक्तिलाई बिक्री गरेको तथा तोकिएको मूल्यभन्दा बढी रकम लिएको भन्ने गुनासो प्राप्त भएको जनाएको छ ।

यस्तै, मल खरिद गर्ने किसानलाई बिल तथा भरपाई उपलब्ध नगराई बिक्री–वितरण प्रक्रियामा विभिन्न प्रकारका विभेद गर्ने गरिएको विषयमा समेत गाउँपालिकाको ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ । गाउँपालिकाले अब उप्रान्त यस्ता गतिविधि नगर्न सबै मल वितरक सहकारी संस्थालाई आग्रह गरेको छ । यदि पुनः यस्ता कार्य भएको पाइएमा वा जानकारी प्राप्त भएमा भुम्लु गाउँपालिकाको अनुदानको रासायनिक मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले सम्बन्धित सहकारी संस्थाको मल वितरण प्रमाणपत्र खारेजीका लागि सिफारिस गर्ने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

सूचनामा विभिन्न वडाका लागि रासायनिक मलको अधिकतम बिक्री मूल्यसमेत निर्धारण गरिएको छ । वडा नं. १, २, ३ र ४ का लागि युरिया प्रतिवोरा १ हजार २ सय ८८ रुपैयाँ ५० पैसा, डीएपी २ हजार ७ सय ३६ रुपैयाँ ५० पैसा तथा पोटास २ हजार १ सय ३६ रुपैयाँ ५० पैसा तोकिएको छ ।

त्यसैगरी वडा नं. ५, ६, ७, ८, ९ र १० का लागि युरिया १ हजार २ सय ३८ रुपैयाँ ५० पैसा, डीएपी २ हजार ६ सय ८८ रुपैयाँ ५० पैसा तथा पोटास २ हजार ८८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ । खरिद मूल्यमा ढुवानी, लोडिङ, अनलोडिङ तथा गोदाम व्यवस्थापनसम्बन्धी खर्चसमेत जोडेर समितिमार्फत मूल्य निर्धारण गरिएको सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले कसैले यस्ता अनियमित गतिविधि गरेको जानकारी पाएमा कृषि विकास शाखा वा मोबाइल नम्बर ९८४७९३५९१८ मा सम्पर्क गरी जानकारी गराउन किसान तथा सर्वसाधारणलाई अनुरोध गरेको छ।

याे पनि

भुम्लु गाउँपालिकामा पशु चौपाया ओसारपसारमा रोक



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १३, बुधबार १७:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP