काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी तराईका भागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।
कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित बाँकी हिमाली भागका एक,दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा अनपेक्षितरूपमा तापक्रम बढ्ने सम्भावना छ ।
त्यसैगरी, राति कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेश र बाँकी पहाडी भागमा आंशिक बदली रहनेछ । तराईका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशका केही तथा मधेससहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
साथै मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तापक्रम अधिक हुने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।
प्रतिक्रिया