• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026

पनौती नगरपालिकाको १९ औँ अधिवेशन: आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत

पनौती नगरपालिकाको १९ औँ अधिवेशन: आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत

पनौती । काभ्रेकाे पनौती नगरपालिकाको १९ औँ नगर सभाको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा नगर प्रमुख रामशरण भण्डारीले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयाे । उहाँले नगरपालिकालाई समृद्ध, स्वच्छ, सुरक्षित तथा आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयाे ।

नगर प्रमुख भण्डारीले नगरभित्रका सडक, खानेपानी, सिंचाइ, कृषि उत्पादन वृद्धि, स्थानीय उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जनाका कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै कृषि क्षेत्रलाई आधुनिकीकरण र उत्पादनमा आधारित अनुदान, कृषक प्रोत्साहन कार्यक्रम, कृषि बजार व्यवस्थापन तथा पशुपालन क्षेत्रको व्यवसायीकरणमा जोड दिइने नीति लिइएको जानकारी दिनुभयाे । सभामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण, युवा स्वरोजगार, महिला सशक्तीकरण, डिजिटल सेवा प्रवाह तथा सुशासनलाई मुख्य प्राथमिकताका रूपमा समेटिएको छ ।

नगर प्रमुख भण्डारीले पनौतीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई संरक्षण गर्दै विकास र समृद्धिको यात्रालाई थप प्रभावकारी बनाइने बताउनुभयाे । नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधार, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार, सूचना प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिका कार्यक्रम समावेश गरिएको उहाँकाे भनाइ छ ।

नगरपालिकाले आगामी वर्ष वातावरण संरक्षण, विपद् व्यवस्थापन, हरियाली प्रवर्द्धन, फोहोरमैला व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ । साथै, डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउँदै सुशासन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

यस्तै नगर अस्पतालको सेवा विस्तार, आधारभूत स्वास्थ्य सेवाको पहुँच वृद्धि, ज्येष्ठ नागरिक तथा विपन्न वर्ग लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । युवा तथा महिलालाई उद्यमशीलता विकासमार्फत आत्मनिर्भर बनाउने, सीपमूलक तालिम सञ्चालन गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र क्षमता विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरसभामा उपप्रमुख गीता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओली, वडाध्यक्षहरू, नगरसभा सदस्यहरू, विषयगत शाखा प्रमुखहरु, कर्मचारीहरूको सहभागिता रहेको थियो । दोस्रो बैठक आगामी असार १० गते बस्ने बताइएको छ ।

नीति तथा कार्यक्रमकाे पूर्ण पाठः

पनाैती नीति कार्यक्रम



कालोटोपी कालोटोपी    
  • २०८३ असार ५, शुक्रबार २०:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP