सिपाघाट, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–६ कालिकास्थानमा मखमली जुत्ता बनाउने तालिम सम्पन्न भएको छ । नेपाल–भारत मैत्री संघ जिल्ला शाखा काभ्रेपलाञ्चोकको संयोजन तथा नेपाल–भारत मैत्री संघ केन्द्रको विशेष सहयोगमा सञ्चालित उक्त तालिममा कालिकास्थान आसपासका १५ जनाको सहभागिता रहेको थियो ।
२०८३ जेठ १० गतेदेखि असार ६ गतेसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक अर्जुन परियारले मखमली जुत्ता तथा चप्पल निर्माणसम्बन्धी सीप प्रदान गर्नुभएको थियो । तालिम समापनका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै तालिम अवधिभर तयार गरिएका जुत्ता–चप्पल अतिथिहरूलाई मायाको चिनोस्वरूप प्रदान गरिएको थियो ।
नेपाल–भारत मैत्री संघका केन्द्रीय अध्यक्ष शैलेन्द्र मोहन झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल–भारत मैत्री संघ काभ्रेका अध्यक्ष विश्वराम श्रेष्ठले अध्यक्षता गर्नुभएको थियो ।
कार्यक्रममा मण्डनदेउपुर नगरपालिका–६ का वडा अध्यक्ष सोमप्रसाद ढकाल, नेपाल–भारत मैत्री संघका केन्द्रीय कोषाध्यक्ष, संघ काभ्रेका उपाध्यक्ष प्रेमकाजी पोटे, सदस्यहरू रमेश ढकाल र बलराम डोटेल, समाजसेवी कुबेरकाजी श्रेष्ठ लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले यस्ता सीपमूलक तालिमले गाउँमै बसेर आयआर्जन गर्न, आर्थिक उन्नति हासिल गर्न तथा स्वरोजगार सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो । नेपाल–भारत मैत्री संघका केन्द्रीय अध्यक्ष झाले आवश्यकताअनुसार यस्ता कार्यक्रम अन्य स्थानमा पनि सञ्चालन गर्न संघ सधैँ सहयोगका लागि तत्पर रहने बताउनुभयो । कार्यक्रमको सञ्चालन नेपाल–भारत मैत्री संघ काभ्रे शाखाका सचिव सूर्यप्रसाद ढकालले गर्नुभएको थियो ।
प्रतिक्रिया