• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन आजः सभापतिमा लामिछाने र वरिष्ठ नेतामा शाह पक्का

रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन आजः सभापतिमा लामिछाने र वरिष्ठ नेतामा शाह पक्का

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आज (आइतबार) चितवनमा उद्घाटन हुँदैछ । महाधिवेशनका लागि सभाहल निर्माण, मञ्च व्यवस्थापन, झण्डा सजावट तथा कार्यक्रम स्थल व्यवस्थापनका कामहरू सकिएको छ । उद्घाटन कार्यक्रम भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना गरिने र बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिने गरी तयारी भएको छ । पार्टी स्थापनाको ४ वर्षपछि रास्वपाले महाधिवेशन गर्न लागेको हो । आइतबारदेखि सुरु भई तीन दिनसम्म चल्ने पहिलो महाधिवेशनमा देशभरबाट ३ हजारभन्दा बढी प्रतिनिधि, पार्टीका नेता, कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ ।

यसैबीच, पार्टीको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवार तथा प्रतिनिधिहरूका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । महाधिवेशनका क्रममा हुने नयाँ नेतृत्व चयनका लागि रास्वपा केन्द्रीय निर्वाचन आयोगले विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ । निर्वाचित भएका सदस्यहरुबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ ।

सोमबार रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन मंगलबार गर्ने गृहकार्य गरिएको छ । पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुनेछ । महाधिवेशन सम्पन्न गर्न करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गर्दै पार्टीले प्रतिनिधि शुल्क, सदस्य तथा शुभेच्छुकबाट प्राप्त सहयोगलाई मुख्य आर्थिक स्रोत बनाउने भएको छ ।

यस्तो छ कार्यतालिका
महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली शनिबार राति साढे ८ बजे पार्टीको वेबसाइटमार्फत प्रकाशन गरेपछि दाबी–विरोधका लागि आइतबार बिहानसम्मको समय दिइएको छ । त्यस्तै उम्मेदवारी मनोनयनका लागि फाराम वितरण आइतबार दिउँसो १ बजेदेखि सुरु हुने जनाइएको छ । मनोनयन पत्र दर्ता दिउँसो २ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ ।

उम्मेदवारहरू विरुद्ध दाबी–विरोध साँझ ६ देखि ७ बजेसम्म र उम्मेदवारी फिर्ताका लागि राति सवा ८ बजेसम्मको समय तय गरिएको छ । उम्मेदवारहरूको अन्तिम नामावली आइतबार राति ११ बजे प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । मतदान सोमबार बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदान सकिएको २ घण्टापछि नै मतगणना सुरु गरी परिणाम घोषणा गरिने कार्यतालिकामा छ ।

प्यानल बनाउन निषेध
रास्वपाले पार्टीभित्र गुटबन्दी बढ्न नदिन महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ । केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित बनाउन ४ बुँदे आचारसंहिता सार्वजनिक गर्दै प्यानल वा गुटबन्दीलाई पूर्ण रूपमा निषेध गरेको छ । आचारसंहिताअनुसार निर्वाचनका क्रममा कुनै पनि प्रकारको संयुक्त सूची बाँड्न, गठबन्धन गर्न वा गुटका आधारमा प्रचारप्रसार गर्न निषेध गरिएको छ । यस्तो गरेको पाइएमा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने चेतावनी आयोगले दिएको छ । भौतिक प्रचार सामग्रीका हकमा अधिकतम ‘२८२’ फिट साइजको एउटा मात्र पोस्टर प्रयोग गर्न अनुमति दिइएको छ ।

महाधिवेशन स्थल र त्यसको आसपासका क्षेत्रमा प्लेकार्ड, ब्यानर, फ्लेक्स वा पर्चा वितरण गर्न पाइने छैन । डिजिटल मिडिया र सामाजिक सञ्जालको प्रयोगका सम्बन्धमा पनि आयोगले कडा नीति अख्तियार गरेको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता माध्यमबाट भ्रामक सूचना सम्प्रेषण गर्न, सशुल्क विज्ञापन गर्न वा मत माग्न नपाइने व्यवस्था गरिएको छ ।

सभापतिमा रवि र वरिष्ठ नेतामा बालेन पक्का
सभापतिमा रवि लामिछाने र विधानमै व्यवस्था गरेर वालेन्द्र शाहलाई सर्वसम्मत वरिष्ठ नेता बनाउन भद्र सहमति पार्टीभित्र बनिसकेको रास्वपा नेताहरुको दाबी छ । रास्वपामा सभापति र वरिष्ठ नेतामा अरु नेताले दाबी पनि नगरेकाले महाधिवेशनमा पनि लामिछाने र शाहकै सीट सुरक्षित छ । त्यसपछिको कार्यकारी भूमिका रहने शक्तिशाली पद महामन्त्रीमा भने यसपटक आकांक्षीहरु धेरै देखिएका छन् । बाहिर हल्ला नगरे पनि पार्टीको आन्तरिक छलफलमा रहर गर्ने अनुहार बढेका छन् । न्युज २४ दैनिकबाट



कालोटोपी कालोटोपी    
  • २०८३ असार ७, आईतवार ०६:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP