काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका र श्री त्रिनेत्रदल गण, भकुण्डेबेशीको संयुक्त आयोजनामा विपद् रोकथाम तथा युवा परिचालनसम्बन्धी अभिमुखीकरण बुधबार सम्पन्न भएको छ । कार्यक्रम तेमाल गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका विपद् व्यवस्थापन समितिका संयोजक चन्द्रबहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दलमान थोकर, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ, श्री त्रिनेत्रदल गण भकुण्डेबेशीका प्रमुख सेनानी राममणि सापकोटा, विभिन्न वडाका अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरू, स्वास्थ्य संस्था तथा स्वास्थ्य इकाईका इन्चार्ज एवं स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, वडा नं. १ देखि ९ सम्मका युवा तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा श्री त्रिनेत्रदल गणका प्रमुख सेनानीले विपद् व्यवस्थापनका विषयमा सैद्धान्तिक प्रशिक्षण दिनुभएकाे थियाे भने सहभागीहरूलाई प्रयोगात्मक अभ्यासमार्फत विपद्का बेला अपनाउनुपर्ने उपायहरूबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा विपद् आउनुअघि अपनाउनुपर्ने पूर्वतयारी, विपद् भएको समयमा सुरक्षित रहने उपाय तथा विपद्पछि गरिनुपर्ने उद्धार, राहत र पुनःस्थापनासम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ ।
स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, शैक्षिक क्षेत्र तथा युवाबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै विपद् जोखिम न्यूनीकरणमा समुदायको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया