मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १ को कार्यालयद्वारा तयार पारिएको विस्तृत ‘वडा पार्श्वचित्र’ एक विशेष समारोहका बीच औपचारिकरूपमा विमोचन गरिएको छ । मेलम्ची नगरपालिकाका उप-प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा उक्त पार्श्वचित्रको विमोचन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवम् मेलम्ची नगरपालिकाका उपप्रमुख प्रधानले वडा नम्बर १ ले वस्तुनिष्ठ तथ्याङ्क सङ्कलन गरी पार्श्वचित्र प्रकाशन गरेकोमा बधाई ज्ञापन गर्नुभयो ।
उहाँले अन्धाधुन्ध गरिने विकासभन्दा तथ्य र तथ्याङ्कमा आधारित योजना दिगो र प्रभावकारी हुने भन्दै पार्श्वचित्र वडा नम्बर १ को मात्र नभई समग्र मेलम्ची नगरपालिकाकै विकास नीति निर्माणका लागि एउटा महत्त्वपूर्ण मार्गदर्शन बन्ने र यसले लक्षित वर्गसम्म सरकारी सेवा र सुविधा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख प्रधानले वडा नेतृत्वका अनुसार यो पार्श्वचित्रले वडाभित्र रहेका सम्भावना र चुनौतीहरूलाई छर्लङ्ग पारेको र अबका बजेट तथा कार्यक्रमहरू बढी व्यवहारिक र जनमुखी हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
वडाको समग्र वस्तुस्थिती, जनसाङ्ख्यिक विवरण, भौगोलिक अवस्था, सांस्कृतिक सम्पदा एवं विकासका सूचकहरूलाई समेटेर तयार पारिएको उक्त पार्श्वचित्रले आगामी दिनमा योजना तर्जुमा गर्न स्थानीय सरकारलाई ठूलो सघाउ पुर्याउने विश्वास लिइएको कार्यक्रमका सभाध्यक्ष एवम् मेलम्ची नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्णमुरारी चौलागाईंले जानकारी दिनुभयो ।
वडा सदस्य लालबहादुर तामाङले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य वडा महिला सदस्य देवकुमारी चौलागाईंले राख्नुभएको थियो भने समाजसेवी जीवनलाल शर्मा पौडेल, पूर्व जनप्रतिनिधि बद्रीप्रसाद चौलागाईं विभिन्न पार्टी प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया