काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डाँडाथोक तल्लोटारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ११:३० बजे विद्युतको पोल अड्याउन राखिएको स्याण्ड नजिकबाट पैदल हिँडिरहेकी भुम्लु गाउँपालिका–७ निवासी ४५ वर्षीया देवी उप्रेतीलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट प्रहरी टोली घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो । त्यसपछि घटनास्थलको मुचुल्का तथा प्राविधिक अनुसन्धानका लागि प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षकको नेतृत्वमा SOCO (Scene of Crime Officer) सहितको टोली खटिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा करेन्ट लाग्नुको कारण खुल्न बाँकी रहेको छ । घटनासम्बन्धी सबै पक्षको सूक्ष्म अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
विद्युत् पूर्वाधार निर्माण तथा मर्मतका क्रममा सुरक्षा मापदण्डको पूर्ण पालना हुनुपर्ने विषयमा यस घटनाले पुनः ध्यानाकर्षण गराएको छ । यद्यपि, यस घटनामा लापरबाही वा अन्य कुनै कारण रहेको/नरहेको विषय अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया