ज्ञानमणि नेपाल कालाेटाेपी
काभ्रे । वर्षा हुनेबित्तिकै काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्के क्षेत्रमा पहिरो खस्ने र वीपी राजमार्ग अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । सडक अवरुद्ध हुँदा पूर्वी नेपालका विभिन्न जिल्लाबाट काठमाडौं आउने तथा काठमाडौंसहितका क्षेत्रबाट पूर्वी नेपालतर्फ जाने हजारौँ यात्रु प्रभावित हुँदै आएका छन् । साेमबार (साउन २५ गते) बिहान करिब ४ बजेतिर माथिबाट लेदोसहितको पहिरो खसेपछि पिन्थली, नार्के क्षेत्रमा वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरोका कारण सडकमा सवारीसाधन सञ्चालन ठप्प भएपछि यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन् ।
सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक निकिताकुमारी मिश्रको नेतृत्वमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने पहल गरिरहेको जनाइएको छ । पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय मंगलटारबाट करिब ४ किलोमिटर पश्चिमतर्फ पर्दछ ।
वर्षा हुनेबित्तिकै उही समस्या
वीपी राजमार्गको यो क्षेत्रमा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या नयाँ भने होइन । सामान्यदेखि ठूलो वर्षासम्म हुँदा समेत सडकमा लेदोसहितको पहिरो आउने गरेका कारण यात्रुहरूले पटक–पटक सास्ती खेप्दै आएका छन् । विशेषगरी काभ्रेको रोशी क्षेत्र हुँदै पूर्वी नेपालका जिल्ला आवतजावत गर्ने मुख्य मार्ग भएकाले सडक अवरुद्ध हुँदा यात्रु मात्र नभई दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारीसाधनसमेत प्रभावित हुने गरेका छन् । सडकमा घण्टौँसम्म सवारीसाधन रोकिँदा यात्रुहरूले समयमै गन्तव्यमा पुग्न नसक्ने तथा कतिपय अवस्थामा वैकल्पिक बाटो खोज्नुपर्ने बाध्यता हुने गरेको छ ।
डेढ वर्षदेखि पुनर्निर्माण, कहिले सकिन्छ काम ?
वीपी राजमार्गको यो खण्ड करिब डेढ वर्षदेखि पुनर्निर्माणको क्रममा रहेको भए पनि सडकको अवस्था अझै सहज रूपमा सञ्चालन गर्न सकिने अवस्थामा पुगिसकेको छैन । पुनर्निर्माणको काम भइरहे पनि वर्षायाममा पहिरो र लेदो खस्ने समस्या झन् बढ्दा राजमार्गको नियमित सञ्चालन प्रभावित हुँदै आएको छ । राजमार्ग पुनर्निर्माणको काम तत्काल सम्पन्न हुने अवस्था नरहेको स्थानीय तथा यात्रुहरू बताउँछन् । सडकको दीर्घकालीन समस्या समाधान हुने गरी पुनर्निर्माणको कामलाई तीव्रता दिनुपर्ने माग हुँदै आएको छ ।
पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको वीपी राजमार्गमा पटक–पटक हुने अवरोधले यात्रु तथा व्यवसायीलाई प्रत्यक्ष असर पार्दै आएको छ । वर्षायाममा सडक अवरुद्ध हुने समस्या दीर्घकालीन रूपमा समाधान गर्न जोखिमयुक्त स्थानको पहिचान गरी प्रभावकारी तटबन्ध, पहिरो नियन्त्रण तथा सडक पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिन्छ ।
हाल पिन्थली, नार्के क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर वर्षा जारी रहेमा थप पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रु तथा चालकलाई उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
File Photo
प्रतिक्रिया