बनेपा । काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर बनेपामा वर्षौंदेखि निरन्तर हुँदै आएको प्रसिद्ध कन्या पूजा यस वर्ष पनि कृष्ण जन्माष्टमीका अवसरमा आयोजना हुने भएको छ । सनातन कन्या पूजा प्रबन्ध समितिको आयोजनामा आगामी २०८३ साल भदौ १९ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीका दिन कन्या पूजा गरिने भएको हो ।
समितिका अनुसार कन्या पूजा भदौ १९ गते बिहान १० बजे बनेपाको भोलाखाँटोलस्थित गणेशस्थानबाट शुभारम्भ हुनेछ । पूजामा सहभागी कन्याहरूलाई विभिन्न स्थानमा व्यवस्थित रूपमा राखी भक्तजनमार्फत पूजा तथा प्रसाद वितरण गरिनेछ । बनेपाको कन्या पूजा नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परामध्ये एक महत्वपूर्ण परम्पराका रूपमा लिइन्छ । यो परम्परा वि.सं. १९५९ देखि निरन्तर सञ्चालन हुँदै आएको हो । पछिल्लो समय यसमा हजारौँ कन्याहरू सहभागी हुँदै आएका छन् ।
१० वर्षमुनिका कन्यालाई देवीका रूपमा पूजा
कन्या पूजामा सामान्यतः रजस्वला नभएका तथा १० वर्षमुनिका कन्याहरूलाई देवीस्वरूप मानेर पूजा गर्ने परम्परा छ । बनेपामा हुने यो पूजामा काभ्रेपलाञ्चोकका विभिन्न स्थानसँगै छिमेकी जिल्लाबाट समेत कन्याहरू सहभागी हुने गरेका छन् । विगतका वर्षमा करिब ७ हजारदेखि ८ हजारभन्दा बढी कन्या सहभागी भएको विवरण सार्वजनिक भएका छन् । पूजामा सहभागी कन्यालाई भक्तजनले टीका लगाइदिने, शुद्ध तोरीको तेल चढाउने तथा स्वारी, मालपुवा, जेरी, बिस्कुट, छोकडा, काजु, मिठाईलगायतका प्रसाद तथा दक्षिणा प्रदान गर्ने चलन रहेको छ । यसका लागि विभिन्न व्यक्ति तथा परिवारले भक्तिभावका साथ दान तथा सहयोग गर्दै आएका छन् ।
सात गाउँदेखि सुरु भएको परम्परा
बनेपाको कन्या पूजाको ऐतिहासिक सम्बन्ध स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको छ । परम्परागत रूपमा बनेपा आसपासका ‘सात गाउँ’ का कन्यालाई पूजा गर्ने गरिएको बताइन्छ । समयक्रमसँगै यो पूजा बनेपाभन्दा बाहिरका क्षेत्रसम्म पनि फैलिँदै गएको छ । समितिका अनुसार सुरुका वर्षमा सीमित संख्यामा कन्यालाई पूजा गरिँदै आए पनि अहिले यसको स्वरूप बृहत् हुँदै गएको छ । कन्यालाई देवीका रूपमा सम्मान गर्ने र उनीहरूको सुख, शान्ति, समृद्धि तथा स्वास्थ्यको कामना गर्ने धार्मिक विश्वासका आधारमा यो परम्परा सञ्चालन हुँदै आएको छ ।
बनेपाको पहिचानसँग जोडिएको सांस्कृतिक सम्पदा
कन्या पूजा धार्मिक आस्थासँग मात्रै नभई बनेपाको सांस्कृतिक पहिचानसँग समेत जोडिएको छ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीका दिन बनेपाको पुरानो बजार क्षेत्रमा देखिने हजारौँ कन्या तथा भक्तजनको सहभागिताले स्थानीय बजारलाई विशेष धार्मिक तथा सांस्कृतिक वातावरणमा परिणत गर्ने गरेको छ ।
विगतका वर्षमा भोलाखाँटोलबाट सुरु हुने पूजा बनेपाको पुरानो बजार हुँदै चारदोबाटो र लायकु दरबार क्षेत्रसम्म पुग्ने गरेको थियो । सडकका दायाँबायाँ कन्याहरूलाई व्यवस्थित रूपमा राखेर भक्तजनले पूजा गर्ने परम्परा रहेको छ । सनातन कन्या पूजा प्रबन्ध समितिले यस परम्परालाई व्यवस्थित, मर्यादित र निरन्तरता दिन स्थानीय भक्तजन, दाता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।

समितिले कन्या पूजामा जात, वर्ग वा समुदायका आधारमा कुनै भेदभाव नगरी सबै कन्यालाई समान रूपमा पूजा गर्ने जनाएको छ । समितिका अनुसार यो पूजा बनेपाको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा संरक्षण र पुस्तान्तरण गर्नुपर्ने महत्वपूर्ण परम्परा भएकाले यसको संरक्षणमा सबैको भूमिका आवश्यक छ । यस वर्ष पनि भव्य रूपमा आयोजना गर्न तयारी भइरहेको समितिले जनाएको छ । समितिले श्रद्धालु भक्तजनलाई भदौ १९ गते बिहान १० बजे भोलाखाँटोल गणेशस्थानमा उपस्थित भई कन्या पूजा तथा प्रसाद वितरणमा सहभागी हुन अनुरोध गरेको छ ।
प्रतिक्रिया