बनेपा । नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि २ लाख २३ हजार ३ सय ६४ रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले विभिन्न तह तथा पदमा रहेका पार्टीका नेता, पदाधिकारी, जनप्रतिनिधि तथा शुभेच्छुकबाट संकलन गरेको उक्त रकम नेपाली कांग्रेस केन्द्रीय विपद् कोषमा जम्मा गरेको हो । उक्त कोषमार्फत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।
बनेपा नगर सभापति महेशकुमार कर्माचार्यका अनुसार राहत कोषमा नगर तथा वडा तहमा रहेका पदाधिकारी, नेता, क्रियाशील सदस्य, जनप्रतिनिधि तथा शुभचिन्तक गरी ५४ जनाबाट सहयोग संकलन गरिएको थियो । सहयोग गर्नेहरूमध्ये नगर सभापति कर्माचार्यले २५ हजार ५ सय ५५ रुपैयाँ, बनेपा वडा नं. २ का कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले संयुक्त रूपमा २० हजार ५ सय ५ रुपैयाँ, गोपाल श्रेष्ठले ५ हजार ५ रुपैयाँ, रुपचन्द्र थापाले ५ हजार ५ रुपैयाँ, नीलम श्रेष्ठले ५ हजार ५ रुपैयाँलगायत रकम सहयोग गरेका छन् ।
त्यस्तै, विभिन्न वडा सभापति, नगर तथा जिल्ला सदस्य, महिला नेतृ, युवा नेता, जनप्रतिनिधि तथा पार्टीका अग्रज एवं क्रियाशील सदस्यहरूले समेत राहत कोषमा रकम प्रदान गरेका छन् । नगर सभापति कर्माचार्यले विपद्को कठिन घडीमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले पार्टीका नेता तथा शुभेच्छुकहरूबाट रकम संकलन गरी केन्द्रीय विपत् कोषमा जम्मा गरिएको जानकारी दिनुभएकाे छ ।
उहाँले मानवीय सेवाका लागि गरिएको सानो सहयोग पनि विपद्मा परेका परिवारका लागि ठूलो सहारा बन्न सक्ने भन्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएकाे छ । ‘मानवीय सेवामा हाम्रो सानो सहयोग, विपद्मा परेकाहरूका लागि ठूलो सहारा’ भन्ने भावनाका साथ राहत अभियानमा सहयोग गरिएको नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले जनाएको छ ।
प्रतिक्रिया