काभ्रेपलाञ्चोक । पनौती नगरपालिका र स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र, भैँसेपाटी, बनेपा–१३ बीच पनौती नगरवासीको स्पाइनल इन्जुरी, ब्रेन इन्जुरी, स्ट्रोक तथा नसासम्बन्धी रोगको उपचार तथा पुनर्स्थापनाका लागि सम्झौता भएको छ । पनौती नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटमा व्यवस्था भएबमोजिम नगरपालिकामा स्थायी बसोबास गर्दै आएका नागरिकलाई उपचार तथा पुनर्स्थापनामा आर्थिक सहयोग गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।
सम्झौताअनुसार स्पाइनल इन्जुरी, ब्रेन इन्जुरी, स्ट्रोक तथा नसासम्बन्धी रोगको उपचार तथा पुनर्स्थापना गराउँदा बिरामीले बीमाबापत प्राप्त गर्ने रकम, विपन्न नागरिकका रूपमा प्राप्त हुने सुविधा तथा अन्य छुट र सुविधाबापतको रकम कट्टा गरेपछि बिरामीले भुक्तानी गर्नुपर्ने रकममध्ये प्रति बिरामी अधिकतम २५ हजार रुपैयाँसम्म नगरपालिकाले एकमुष्ट आर्थिक सहयोग गर्नेछ ।
नगरपालिकाले उपचारका क्रममा बिरामीले प्राप्त गर्ने विभिन्न सुविधा तथा छुटलाई समायोजन गरी बाँकी रकममा यस्तो सहयोग उपलब्ध गराउने व्यवस्था गरेको हो । सम्झौतामा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओली, स्पाइनल इन्जुरी संघ नेपालका कार्यकारी निर्देशक ईशा थापा र केस व्यवस्थापन संयोजक रेजी बुढाथोकीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापछि स्पाइनल इन्जुरी, ब्रेन इन्जुरी, स्ट्रोक तथा नसासम्बन्धी समस्याबाट प्रभावित पनौतीका नागरिकलाई उपचार तथा पुनर्स्थापनाका लागि आर्थिक भार कम हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया