काभ्रेपलाञ्चोक । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले राहत तथा उद्धारका लागि २ लाख २ हजार २२२ रुपैयाँ सहयोग गरेको छ ।
संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोजी तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारसमक्ष अनुरोध गरेको छ ।
विपद्को समयमा नेपाली जनताले एकअर्कालाई सहयोग गर्दै संकटको सामना गर्दै आएको स्मरण गर्दै संघले सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्व अन्तर्गत राहत तथा उद्धारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मानवीय सेवाका लागि गरिएको सानो सहयोगले पनि पीडित परिवारलाई केही राहत पुग्ने संघले विश्वास लिएको छ ।
संघले स्थापना कालदेखि नै विपद् व्यवस्थापन कोष खडा गरी आफ्नो क्षमताअनुसार आर्थिक तथा भौतिक सहयोग गर्दै आएको जनाएको छ । यही क्रममा संघको सञ्चालक समितिको बैठकको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सञ्चालक समिति, कर्मचारी तथा संघको तर्फबाट जम्मा २ लाख २ हजार २२२ रुपैयाँ सहयोग गरिएको हो ।
संघका अध्यक्ष उदयराम कायस्थले विपद्को यस घडीमा कोषलाई थप मजबुत बनाउन तथा प्रभावित नागरिकसम्म राहत पुर्याउन सबै संघ–संस्था तथा व्यक्तिहरूलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आह्वान गर्नुभएको छ । संघले ‘विपद्मा सहयोग, संकटमा सहारा, सहकारी नै समुदायको बलियो किनारा’ भन्ने भावनाका साथ सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
प्रतिक्रिया