काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले बाढीपहिरो प्रभावित क्षेत्र र परिवारको राहत तथा उद्धारका लागि २० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता स्मरण गर्दै नगर प्रमुख खरेलले आफ्नो १० वर्षको सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने वाचा गरेको र अहिले देशका विभिन्न स्थानका नागरिक विपद्को पीडामा रहेका बेला उक्त प्रतिबद्धता कार्यान्वयनतर्फ अघि बढेको बताउनुभएको हो ।
भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीपहिरोका कारण घर, सम्पत्ति तथा आफन्त गुमाएका परिवारको पीडाले आफूलाई गम्भीर बनाएको भन्दै खरेलले तत्काल २० लाख रुपैयाँ राहतका लागि समर्पण गर्नुभएको हो ।
खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै निर्वाचनका बेला गरेको वाचा सम्झिँदै भन्नुभएको छ, ‘मेरो १० वर्षको सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने’ प्रतिबद्धता आफूले गरेको उल्लेख गर्नुभएको छ । उहाँले अहिले देशका धेरै परिवार बाढीपहिरोको पीडामा रहेको र घर, सम्पत्ति तथा आफ्ना आफन्त गुमाएका नेपाली दाजुभाइ–दिदीबहिनीहरूको पीडा देख्दा आफूले गरेको वाचा पुनः सम्झिएको बताउनुभएको छ ।
त्यसैअनुसार तत्काल २० लाख रुपैयाँ बाढीपहिरो प्रभावित क्षेत्र र परिवारहरूको राहतका लागि समर्पण गर्ने र बाँकी तलब पनि छिट्टै यही सेवामा लगाउने उहाँको घोषणा छ । खरेलले आफूले गर्न लागेको सहयोगलाई ठूलो सहयोगका रूपमा नलिन आग्रह गर्दै जनताबाट प्राप्त जिम्मेवारीको सानो अंश जनतामै फर्काउने प्रयासका रूपमा व्याख्या गर्नुभएको छ । ‘पदले दिएको तलब जनताकै हो, त्यसैले जनताकै दुःखमा फर्काउन चाहन्छु’ भन्ने उहाँको भनाइ छ ।
स्थानीय तहको राजनीतिमा खरेलको यो दोस्रो कार्यकाल हो । उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट पाँचखाल नगरपालिकाको नगर प्रमुखमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसबाटै दोस्रोपटक नगर प्रमुखमा निर्वाचित हुनुभएको हो । नगर प्रमुखको जिम्मेवारीमा रहेर स्थानीय तहको विकास र जनताको सेवामा सक्रिय रहँदै आउनुभएका खरेल राजनीतिकर्मीका साथै सामाजिक सेवामा समेत सक्रिय व्यक्तिका रूपमा परिचित हुनुहुन्छ । विपद्, गरिबी तथा विभिन्न सामाजिक समस्यामा परेका नागरिकलाई सहयोग गर्ने उहाँको सक्रियताले उहाँको राजनीतिक भूमिकासँगै समाजसेवी व्यक्तित्वलाई समेत उजागर गरेको देखिन्छ ।
पद र राजनीतिलाई व्यक्तिगत लाभभन्दा जनसेवासँग जोड्नुपर्ने धारणा राख्दै आउनुभएका खरेलले आफ्नो तलब जनताको सेवामा लगाउने प्रतिबद्धता जनाउनुभएको थियो । अहिले बाढीपहिरोबाट ठूलो क्षति भएका बेला २० लाख रुपैयाँ तत्काल राहतका लागि समर्पण गर्ने घोषणाले उक्त प्रतिबद्धतालाई व्यवहारमा उतार्ने प्रयासका रूपमा हेरिएको छ । विपद्का कारण विस्थापित तथा प्रभावित परिवारलाई तत्काल राहत, उद्धार र पुनर्स्थापनाका लागि राज्यसँगै विभिन्न संघसंस्था, स्थानीय तह, व्यवसायी तथा सर्वसाधारणबाट सहयोग जुटिरहेका बेला नगर प्रमुख खरेलको घोषणाले सामाजिक उत्तरदायित्व र जनप्रतिनिधिको भूमिकाबारे सकारात्मक सन्देश दिएको छ ।खरेलले विपद्मा परेका सम्पूर्ण नेपालीप्रति साथ र ऐक्यबद्धता व्यक्त गर्दै दुःखको यस घडीमा प्रभावित परिवारलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ ।
प्रतिक्रिया