पनौती । प्रविधिको सही, सुरक्षित तथा जिम्मेवार प्रयोगसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पनौतीमा प्राविधिक साक्षरता तथा साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती सेवाकेन्द्रको आयोजनामा भदौ १८ गते पनौती नगरपालिका–७ स्थित श्री इन्द्रेश्वर माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
पनौती सेवाकेन्द्र संयोजक महेशकुमार कर्माचार्यको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रकाश बञ्जारा प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत श्यामसुन्दर श्रेष्ठ, विद्यालयकी शिक्षिका सीता खड्का, सेवाकेन्द्रका कर्मचारी तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी गरी ९१ जनाको सहभागिता रहेको थियो ।
पनौती सेवाकेन्द्र प्रमुख विमल जाकिबञ्जारले सञ्चालन गरेको कार्यक्रममा मोबाइल, इन्टरनेट तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत जानकारीको सुरक्षा, बलियो पासवर्डको प्रयोग, फिसिङ तथा अनलाइन ठगीबाट बच्ने उपाय, साइबर बुलिङ, मालवेयर र डिजिटल फुटप्रिन्टलगायतका विषयमा सहभागीलाई जानकारी दिइएको थियो ।
त्यसैगरी सहकारी क्षेत्रमा प्रयोग भइरहेका डिजिटल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर तथा कनेक्ट आईपीएस जस्ता डिजिटल भुक्तानी प्रणालीको सुरक्षित तथा प्रभावकारी प्रयोगका विषयमा समेत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध तथा अनलाइन ठगीका जोखिमसमेत बढिरहेको अवस्थामा प्रविधिसम्बन्धी आधारभूत ज्ञान र सचेतना आवश्यक रहेकोमा जोड दिइएको थियो । प्रविधिको सही ज्ञान हासिल गरी सुरक्षित र जिम्मेवार ढंगले प्रयोग गर्न सके सम्भावित साइबर अपराधबाट बच्न सकिने सहभागीलाई जानकारी गराइएको थियो ।
विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमले उनीहरूलाई डिजिटल प्रविधिको सुरक्षित प्रयोग, व्यक्तिगत सूचना संरक्षण तथा अनलाइन गतिविधिमा अपनाउनुपर्ने सावधानीबारे व्यावहारिक जानकारी प्रदान गरेको आयोजकले जनाएको छ।
प्रतिक्रिया