काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भोटेकोशी बाढीपछिको राहत तथा उद्धारदेखि पार्टीको आन्तरिक लोकतन्त्र, क्रियाशील सदस्यता, संगठनात्मक सुधार र आगामी महाधिवेशनसम्मका विषयमा विभिन्न सुझाव तथा प्रस्ताव प्रस्तुत गर्नुभएको छ। आचार्यले भोटेकोशी बाढीको घटनापछि नेपाली कांग्रेसले पहिलो दिनदेखि खेलेको भूमिकाले जिम्मेवार प्रतिपक्षको गरिमा बढाएको बताउँदै वर्तमान सरकार राहत तथा उद्धारका सवालमा अपरिपक्व, असफल र पूर्वाग्रही देखिएको टिप्पणी गर्नुभएको छ।
उहाँले विपद्का समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सरकार र जनप्रतिनिधिले गरेको निरन्तर खटाइ, समन्वय र योजनाबद्ध कार्यको उच्च प्रशंसा गर्नुपर्ने धारणा राख्नुभएको छ। स्थानीय तथा प्रदेश सरकारको संवैधानिक भूमिकालाई उपेक्षा गर्ने प्रवृत्तिका कारण विपद् प्रभावित नागरिक थप पीडित भइरहेको भन्दै त्यसको प्रतिकार गर्न कांग्रेस अग्रसर हुनुपर्ने उहाँको भनाइ छ।आचार्यले कांग्रेसले वर्तमान परिस्थितिमा ‘जलवायु न्याय’ र ‘नमुना एकीकृत बस्ती विकास’ जस्ता विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने प्रस्तावसमेत गर्नुभएको छ।
पार्टी एकताका लागि मुद्दा फिर्ताको आग्रह
क्रियाशील सदस्यताको विषयमा पार्टीको बृहत्तर एकताका लागि लचकता अपनाएर अघि बढिएको उल्लेख गर्दै आचार्यले अदालतमा पुनरावलोकनको मुद्दा लिएर गएका नेताहरू पार्टी एकताको पक्षमा भए पाँच दिनभित्र मुद्दा फिर्ता लिएर एकताको वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ। उहाँले पार्टीको संगठनात्मक संरचनालाई अझ व्यवस्थित र जनमुखी बनाउन महासमिति बैठकअघि केन्द्रबाटै प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा सभापतिहरूका प्रदेशगत भेलाहरू आयोजना गर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएको छ।
त्यस्तै, पालिका सभापतिलाई महाधिवेशन प्रतिनिधि तथा प्रदेश क्षेत्रीय सभापतिलाई समेत महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्था गर्नुपर्ने उहाँको प्रस्ताव छ । उपमहानगरपालिका र महानगरपालिकाका सभापतिलाई महासमिति सदस्य बनाउनुका साथै उपमहानगरपालिकाबाट पाँच जना र महानगरपालिकाबाट सात जना अतिरिक्त महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था गर्नुपर्ने उहाँले सुझाव दिनुभएको छ।
क्रियाशील सदस्यता पारदर्शी बनाउनुपर्ने
आचार्यले प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित र सहिद परिवारलाई छुट्टै क्लस्टरका रूपमा व्यवस्थित गर्नुपर्ने तथा नेपाल ट्रेड युनियन कांग्रेससँग संवाद गरी श्रमिक क्लस्टरको स्पष्ट र ट्रेड युनियनमैत्री परिभाषा तय गर्नुपर्ने बताउनुभएको छ । उहाँले क्रियाशील सदस्यताको सूची यथाशीघ्र पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै आवश्यक उजुरी, छानबिन र प्रमाणीकरणको प्रक्रिया पूरा गरेर मात्र अन्तिम सूची सार्वजनिक गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
‘कांग्रेस बदल्दैछौं र बदल्छौं’
पार्टीभित्र सुशासन कायम गर्न आन्तरिक लोकतन्त्र, निक्षेपण, पारदर्शिता, जवाफदेहिता र सहभागिताजस्ता मूल्य–पद्धति पार्टीका निर्णय प्रक्रिया, विधान र परिणाममा देखिनुपर्ने आचार्यको भनाइ छ । उहाँले भन्नुभएको छ, “हामीले कांग्रेस बदलिसकेका छैनौं । तर बदल्दैछौं र बदल्छौं ।” पार्टीमा जोडिँदै गएका सबै सदस्यको प्रतिबद्धता कांग्रेसलाई रूपान्तरण गर्नु रहेको उहाँले बताउनुभएको छ । लोकतन्त्रको आत्माका रूपमा रहेको ट्रेड युनियन अधिकारको पक्षमा कांग्रेस स्पष्ट रूपमा मुखरित हुनुपर्ने र आवश्यक परे त्यसको पक्षमा प्रतिकार गर्नसमेत तयार हुनुपर्ने उहाँको धारणा छ।
घात–अन्तर्घातको संस्कृतिको अन्त्य गर्नुपर्ने
आचार्यले कांग्रेसभित्र विगतदेखि रहेको घात, अन्तर्घात, दुश्मनी र घृणाको संस्कृतिलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । अस्वस्थ प्रतिस्पर्धा, अपमान र तेजोवधको शृङ्खला रोक्न सिस्टम, मापदण्ड र समन्यायलाई आधार बनाएर पार्टीमा सांस्कृतिक रूपान्तरण आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले पार्टीमा दुई दर्जाको सदस्यको व्यवस्था हुन नहुने स्पष्ट पार्दै महाधिवेशन प्रतिनिधि बन्ने प्रक्रिया सबैका लागि समान हुनुपर्ने धारणा राख्नुभएको छ । केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यसमेत पार्टीको तल्लो तह अर्थात् वडादेखि नै निर्वाचित भएर आउने व्यवस्था सुनिश्चित गर्नुपर्ने उहाँको प्रस्ताव छ ।
भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने
आचार्यले पार्टीका भ्रातृ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि आउने परम्परालाई निरन्तरता दिँदै सदस्य संख्याका आधारमा प्रतिनिधित्व निर्धारण गर्नुपर्ने बताउनुभएको छ । त्यसैगरी लामो समयदेखि नेपाल महिला संघमा काम गरेका व्यक्तिलाई तहगत जिम्मेवारीमा ल्याउनुपर्ने तथा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, लोकतान्त्रिक खेलकुद संघलगायत भ्रातृ संस्थालाई सबैलाई स्वीकार्य हुने मापदण्डका आधारमा पूर्णता दिनुपर्ने उहाँको सुझाव छ ।
‘कांग्रेसलाई थप तिखार्दै राष्ट्रियता र जनजीवनका सवालमा अघि बढौं’
आचार्यले नेपाली कांग्रेसलाई नेपालको क्रान्तिकारी र प्रगतिशील शक्ति भएको उल्लेख गर्दै पार्टीलाई समयसापेक्ष र जनतासँग जोडिएको बनाउनुपर्ने बताउनुभएको छ। गगन थापाको नेतृत्वमा रहेको कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र जनजीवनका सवालमा आफूलाई थप तिखार्दै सापेक्षिक रूपमा क्रान्तिकारी र प्रगतिशील शक्ति भएको पुनः प्रमाणित गर्नुपर्ने उहाँको धारणा छ। आगामी महाधिवेशनलाई केवल नेतृत्व चयनको अवसरका रूपमा नभई नीति र नेता निर्माणको ऐतिहासिक महाधिवेशनका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
प्रतिक्रिया