ज्ञानमणि नेपाल कालाेटाेपी
काभ्रे । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकमा वडा अधिवेशन सम्पन्न भएसँगै गाउँ–नगर अधिवेशन पनि करिब सकिएकाे छ । यही क्रममा नमोबुद्ध नगरपालिकामा नगर सभापति पदमा कृष्ण लामा बम्जन निर्वाचित हुनुभएकाे छ । नमोबुद्ध नगरपालिका–१० का स्थायी बासिन्दा ४४ वर्षीय बम्जन निवर्तमान कार्यसमितिमा नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिका उपसभापति हुनुहुन्थ्याे । पार्टीको संगठन निर्माणमा लामो समयदेखि सक्रिय उहाँले पार्टीभित्र गुट–उपगुटको राजनीतिभन्दा संगठनको एकता र सामूहिक नेतृत्वलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आउनुभएको छ । आफू नगर सभापति निर्वाचित भएसँगै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने र गुटगत राजनीतिलाई निरुत्साहित गर्ने उहाँको भनाइ छ ।
०६९ सालदेखि कांग्रेसको सक्रिय राजनीतिमा
बम्जनले तत्कालीन पार्टी सभापति सुशील कोइरालाको नेतृत्वकालमा २०६९ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएर पार्टीको संगठनात्मक गतिविधिमा सक्रियरूपमा काम गर्न थाल्नुभएको हो । त्यसयता उहाँ पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको छ । कांग्रेसको १३औँ महाधिवेशनका क्रममा कुन्साङ लामाको नेतृत्वमा रहेको नगर कार्यसमितिमा उहाँले कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसपछिको कार्यसमितिमा भने उहाँ उपसभापतिको जिम्मेवारीमा रहनुभयो। पार्टीले दिएको जिम्मेवारीलाई आफूले कहिल्यै बोझका रूपमा नलिएको र संगठनको आवश्यकता अनुसार जिम्मेवारी निर्वाह गर्दै आएको उहाँ बताउनुहुन्छ । काभ्रे कांग्रेसको जिल्ला नेतृत्वमा मधु आचार्य सभापति रहनुभएको समयमा २०७३ सालमा उहाँले काभ्रे–काठमाडौं सम्पर्क समितिको सचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । हाल सोही समितिमा उहाँ उपसभापतिको भूमिकामा हुनुहुन्छ।
‘गुटभन्दा माथि उठेर संगठन बनाउनुपर्छ’
कांग्रेसभित्र समय–समयमा देखिने विवाद र असमझदारीले संगठनलाई कमजोर बनाउने भन्दै बम्जन पार्टीका शीर्ष नेतृत्वदेखि स्थानीय तहका नेता–कार्यकर्तासम्मलाई आपसी एकताका साथ अघि बढ्न आग्रह गर्नुहुन्छ । उहाँको बुझाइमा पार्टीभित्र विवाद बढ्दा त्यसको फाइदा अरूले उठाउन सक्छन् । त्यसैले व्यक्तिगत असहमति र आन्तरिक विवादलाई व्यवस्थापन गर्दै संगठनको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँको धारणा छ । उहाँ आफूले कसैको विरोध वा टीकाटिप्पणी गरेरभन्दा संगठनमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बाटो रोजेको बताउनुहुन्छ ।
निर्वाचनदेखि भूकम्पसम्म सामाजिक सक्रियता
बम्जनको राजनीतिक यात्रामा निर्वाचनका बेला संगठनका लागि गरेको सक्रियतादेखि विपद्का समयमा गरेको सामाजिक सेवासम्मका अनुभव जोडिएका छन् । संविधानसभा निर्वाचनका क्रममा पार्टीका उम्मेदवार तथा संगठनका पक्षमा सक्रिय भएर काम गरेको उहाँको अनुभव छ । त्यसैगरी २०७२ सालको विनाशकारी भूकम्पपछि प्रभावित नागरिकलाई राहत वितरण तथा अन्य मानवीय सहयोगमा समेत उहाँ सक्रिय रहनुभएको थियो । राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि निरन्तर सक्रिय रहनुभएका बम्जन समाजसेवालाई आफ्नो सामाजिक दायित्वका रूपमा लिएको बताउनुहुन्छ ।
‘राजनीति कमाउने पेशा होइन’
मध्यमवर्गीय परिवारमा जन्मनुभएका बम्जन राजनीतिसँगै २०५७ सालदेखि निर्माण व्यवसायमा समेत संलग्न हुनुहुन्छ । व्यवसाय र सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका उहाँ राजनीति समाजसेवा र जनताको प्रतिनिधित्व गर्ने माध्यम हुनुपर्ने बताउनुहुन्छ । ‘राजनीतिलाई कमाउने पेशा बनाउनु हुँदैन’ भन्ने उहाँको स्पष्ट धारणा छ । राजनीतिक नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा समाज र संगठनको हितलाई प्राथमिकता दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय युवापुस्तामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको देखिनु चिन्ताको विषय भएको उहाँको भनाइ छ । कुनै व्यक्तिले गलत काम गर्दैमा समग्र राजनीतिलाई नै खराब भन्न नमिल्ने बताउँदै उहाँ युवाहरूलाई राजनीतिमा सक्रिय हुन आग्रह गर्नुहुन्छ । ‘सबै व्यक्ति खराब हुँदैनन्, कुनै व्यक्तिले नराम्रो काम गर्दैमा राजनीति आफैँ नराम्रो नीति होइन’ भन्ने उहाँको धारणा छ । सामाजिक सञ्जालको होहल्ला वा निराशाजनक धारणाको पछि नलागी युवाहरूले राजनीतिलाई नजिकबाट बुझेर सकारात्मक भूमिकामा आउनुपर्ने उहाँ बताउनुहुन्छ ।
पार्टीको विधि, विधान र संस्थागत प्रक्रियाभित्र रहेर संगठनलाई अघि बढाउनुपर्नेमा जोड दिँदै आएका बम्जनले आफू सभापति भएसँगै सबै पक्षलाई समेटेर अघि बढ्ने बताउनुभएको छ । गुटभन्दा माथि उठेर संगठन बलियो बनाउने, युवालाई राजनीतिमा आकर्षित गर्ने र पार्टीभित्रको आन्तरिक विवादलाई संवादमार्फत समाधान गर्ने विषय पनि उहाँले प्राथमिकतामा राख्नुभएकाे छ ।
प्रतिक्रिया