सिन्धुली । बी.पी. राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानमा स्कार्पियो जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको जिप सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
बुधबार बिहान करिब ८ः३० बजे बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो । प्रहरीले घाइते आठै जनाको उद्धार गरी प्रारम्भिक उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटा पठाएको थियो ।
प्रधान मेडिकलमा सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएपछि घाइतेहरूलाई बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिनामाया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ घाइते भएका छन् ।
जिप चालक बेथानचोक गाउँपालिका–३ का करिब २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया