नेपालको पर्यटन क्षेत्रका लागि सन् २०२६ को सेप्टेम्बरले उत्साहजनक संकेत दिएको छ । वर्षायामको प्रतिकूल मौसम र प्राकृतिक विपद्को जोखिमका बीच एकै महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिनु सामान्य उपलब्धि होइन । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महिनामा ७८ हजार ७११ पर्यटक आएकोमा यस वर्षको सेप्टेम्बरमा झण्डै १० हजार बढी पर्यटक आएका छन् ।
पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । त्यसैले पर्यटक आगमनमा देखिएको यो वृद्धिलाई केवल तथ्याङ्कका रूपमा हेरेर पुग्दैन । यसले नेपालप्रति अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण अझै बलियो रहेको सन्देश पनि दिएको छ ।
सेप्टेम्बरमा दक्षिण एसियाबाट मात्रै ३० हजार ८५ पर्यटक नेपाल आएका छन् । त्यसमध्ये भारतबाट १७ हजार ४२५ पर्यटक आउनु नेपालको पर्यटनका लागि विशेष महत्वको विषय हो । चीन, जापान, दक्षिण कोरिया, युरोप, अमेरिका, ओसियाना तथा अन्य क्षेत्रबाट समेत उल्लेख्य पर्यटक नेपाल आउनुले नेपालको पर्यटन बजार विविध बन्दै गएको देखाउँछ । तर पर्यटक बढ्नु मात्रै पर्याप्त हुँदैन। उनीहरूलाई नेपालमा सहज, सुरक्षित र गुणस्तरीय यात्रा अनुभव दिन सक्नु अझ महत्वपूर्ण हुन्छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पर्यटक आगमन प्रभावित भएको तथ्यले पनि हाम्रो पर्यटन पूर्वाधार र विपद् व्यवस्थापनको कमजोर पक्ष उजागर गर्छ ।
नेपालमा वर्षायामलाई पर्यटनको ‘अफ सिजन’ मान्ने प्रवृत्ति अझै छ। तर पछिल्लो तथ्याङ्कले मौसम प्रतिकूल हुँदा पनि पर्यटक नेपाल आउन इच्छुक रहेको देखाएको छ । यसलाई अवसरमा बदल्न अब पर्यटनलाई केवल काठमाडौं, पोखरा वा केही हिमाली गन्तव्यमा सीमित राख्ने होइन, देशका नयाँ तथा वैकल्पिक गन्तव्यसम्म विस्तार गर्नुपर्छ ।
त्यसका लागि गुणस्तरीय सडक, विमानस्थल, पदमार्ग, सञ्चार, स्वास्थ्य, सरसफाइ, पर्यटक सूचना केन्द्र, उद्धार तथा विपद् व्यवस्थापनजस्ता आधारभूत पूर्वाधारमा लगानी बढाउन आवश्यक छ। सडक निर्माण मात्र होइन, निर्माण भएका सडकको नियमित मर्मत र जोखिमयुक्त क्षेत्रमा सुरक्षित यातायात व्यवस्था पनि उत्तिकै आवश्यक छ।
पर्यटकलाई आकर्षित गर्ने प्राकृतिक तथा सांस्कृतिक सम्पदा नेपालसँग प्रशस्त छन् । समस्या आकर्षणको कमी होइन, त्यसलाई व्यवस्थित पर्यटन उत्पादनमा बदल्ने क्षमता र पूर्वाधारको हो । अहिलेको बढ्दो पर्यटक आगमनलाई सरकारले पर्यटन क्षेत्र सुधारको अवसरका रूपमा लिनुपर्छ। निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्दै स्थानीय समुदायलाई पर्यटनको लाभसँग जोड्न सके पर्यटन रोजगारी र स्थानीय अर्थतन्त्रको बलियो आधार बन्न सक्छ ।
वर्षायाममै ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आउनु सम्भावनाको संकेत हो । अब प्रश्न पर्यटक आउँछन् कि आउँदैनन् भन्ने होइन, आउने पर्यटकलाई कसरी स्वागत गर्ने, सुरक्षित राख्ने र उनीहरूलाई फेरि नेपाल आउन प्रेरित गर्ने भन्ने हो । त्यसका लागि पूर्वाधार, सेवा र व्यवस्थापनमा सुधार गर्न अब ढिला गर्नु हुँदैन ।
प्रतिक्रिया