काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ । सभापति पदका लागि उम्मेदवारी दिएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि अब गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन समितिका अनुसार नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुनेछ ।
राठौरले बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिँदै थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् । त्यसअघि उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका थिए । मनोनयन दर्ताको समयमा भने सभापति पदमा थापा, खड्गी र राठौर गरी तीन जनाको उम्मेदवारी परेको थियो ।
राठौरको उम्मेदवारी फिर्तासँगै सभापति पदको प्रतिस्पर्धा दुई उम्मेदवारमा सीमित भएको छ । खड्गीले भने आफ्नो उम्मेद्वारी कायमै राख्ने बताएका छन् । उनले आफूले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुँदै प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका छन् । निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेपछि सभापतिसहित विभिन्न पदमा हुने प्रतिस्पर्धाको औपचारिक तस्वीर अझ स्पष्ट हुनेछ ।
यसैबीच, महाधिवेशनको बन्दसत्रबाट चारवटा महत्वपूर्ण प्रतिवेदन पारित भएका छन् । सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन बन्दसत्रबाट पारित भएका हुन् । प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल तथा धारणा राखेका थिए ।
बन्दसत्र समापनका क्रममा सभापति थापाले कांग्रेसभित्र लामो समयदेखि चर्चामा रहेका गुट तथा समूहहरू अब नरहेको दाबी गरेका छन् । उनले कोइराला, पौडेललगायतका नाममा रहेका समूहसमेत समाप्त भएको उल्लेख गर्दै महाधिवेशनपछि कांग्रेसलाई एउटै पार्टीका रूपमा अघि बढाउने संकेत गरेका हुन् । नयाँ नेतृत्व चयनसँगै कांग्रेसले संगठनात्मक संरचना, पार्टीको आगामी राजनीतिक दिशा तथा आन्तरिक एकताको विषयलाई पनि अघि बढाउने अपेक्षा गरिएको छ ।
महाधिवेशनमा विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि ठूलो संख्यामा उम्मेद्वारी परेको छ । निर्वाचन समितिका अनुसार निर्वाचित हुने पदाधिकारीका विभिन्न पदमा प्रतिस्पर्धा हुँदैछ । अब कांग्रेस महाधिवेशनको मुख्य ध्यान बिहीबार हुने मतदानमा केन्द्रित भएको छ । मतदानबाट आउने नेतृत्वले पार्टीको आगामी राजनीतिक यात्रा, संगठन सञ्चालन र आन्तरिक सम्बन्धलाई कसरी अघि बढाउँछ भन्ने विषय महाधिवेशनपछि थप महत्वपूर्ण बन्नेछ ।
प्रतिक्रिया