काभ्रे । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । देशभरबाट उम्मेदवारहरू विभिन्न पदमा प्रतिस्पर्धामा रहेका बेला काभ्रेबाट पनि पार्टीको केन्द्रीय नेतृत्वमा पुग्न ६ जना उम्मेदवार मैदानमा छन् ।काभ्रेबाट उपसभापति पदमा मधु आचार्यले उम्मेदवारी दिएका छन् । उनी उपसभापतिको खुलातर्फ प्रतिस्पर्धामा छन् । उपसभापतिको खुलातर्फ १० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै, तीर्थ लामा केन्द्रीय सदस्य पदमा आदिवासी जनजातितर्फबाट उम्मेद्वार छन् । काभ्रेका लामा यसअघि जिल्लाको पार्टी नेतृत्व तथा सार्वजनिक जिम्मेवारीमा समेत रहिसकेका नेता हुन् । महेश खरेल पनि केन्द्रीय सदस्य पदका उम्मेदवार छन् । खरेल काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. २ का सभापतिसमेत हुन् । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयनका क्रममा खरेलको नेतृत्वमा सहमतिबाट प्रतिनिधि चयन गरिएको थियो ।
त्यसैगरी गणेश लामा केन्द्रीय सदस्यको खुलातर्फ उम्मेदवार बनेका छन् । उनी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन व्यवस्थापनसँग सम्बन्धित जिम्मेवारीमा समेत रहेका थिए । काभ्रेबाट निर्मला श्रेष्ठ पनि केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेकी छन् । उनी काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. २ बाट अपाङ्गता समूहअन्तर्गत प्रतिस्पर्धामा रहेको उल्लेख छ ।
यस्तै, उस्पार सुनार ३५ वर्षमुनिका युवातर्फ सातवटै प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्य पदका उम्मेदवार छन् । उक्त समूहमा सात पदका लागि २७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसको आधिकारिक अन्तिम उम्मेदवार सूचीमा सुनारको नामसमेत समावेश छ ।
यसरी काभ्रेबाट एक जना उपसभापति र पाँच जना केन्द्रीय सदस्य पदका लागि गरी ६ जना उम्मेदवारले केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्वका लागि प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूको राजनीतिक यात्रा र जिल्लामा रहेको संगठनात्मक आधारसँगै आजको मतदानले काभ्रेबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा कति प्रतिनिधित्व स्थापित हुन्छ भन्ने तय गर्नेछ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतदान आज बिहान १० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम सूचीअनुसार महाधिवेशनमा ५८ पदका लागि ८११ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । काभ्रेली महाधिवेशन प्रतिनिधिहरूका लागि आजको मतदान आफ्नै जिल्लाका उम्मेद्वारलाई केन्द्रीय नेतृत्वमा पठाउने अवसरका रूपमा समेत महत्वपूर्ण बनेको छ ।-कालाेटाेपी डटकम
प्रतिक्रिया