काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तालिका सार्वजनिक गरेको छ । मतपत्र छपाइमा भएको ढिलाइ र आवश्यक प्राविधिक तयारी पूरा हुन नसक्दा बिहीबारका लागि निर्धारित मतदान स्थगित भएपछि निर्वाचन कार्यक्रम शुक्रबारका लागि सारिएको हो ।
निर्वाचन समितिका अनुसार आवश्यक तयारी पूरा भएसँगै मतदान प्रक्रिया अघि बढाउन लागिएको हो । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजै सम्पन्न हुनुपर्ने हो । असोज १८ गतेदेखि काठमाडौँको खुलामञ्च र राष्ट्रिय सभागृहमा जारी महाधिवेशन निर्धारित समयमै अघि बढेको भए यतिबेला नयाँ नेतृत्वको टुङ्गो लागिसकेको हुन्थ्यो। महाधिवेशनस्थलमा विजयी उम्मेदवारको पक्षमा उत्सव र विजय जुलुसको माहोल देखिनुपर्ने थियो । तर, निर्वाचन व्यवस्थापनमा देखिएको कमजोरीका कारण नेतृत्व चयन प्रक्रिया नै लम्बिएपछि प्रतिनिधिहरूमा उत्साहभन्दा थकान र निराशा बढी देखिएको छ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको थियो। त्यसपछि प्रचारप्रसारका लागि समय छुट्याउँदै बिहीबार बिहान १० बजेदेखि मतदान गर्ने कार्यतालिका बनाइएको थियो । निर्धारित समयमा मतदान हुन नसक्दा महाधिवेशनमा सहभागी प्रतिनिधिहरू लामो समयसम्म अनिश्चिततामा बस्न बाध्य भए । नयाँ नेतृत्व चयनसँगै पार्टीमा उत्साह र ऊर्जा थपिने अपेक्षा गरिएका बेला व्यवस्थापकीय कमजोरीका कारण निर्वाचन प्रक्रिया प्रभावित भएपछि प्रतिनिधिहरूमा असन्तुष्टि देखिएको छ।
आज हुने मतदानले कांग्रेसको आगामी चारवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अब सबैको ध्यान मतदान प्रक्रिया निर्धारित समयमै सम्पन्न हुन्छ कि हुँदैन भन्नेमा केन्द्रित भएको छ ।
प्रतिक्रिया