• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

कुन्ताबेँसीमा कृषि हाटबजार सञ्चालन हुँदै, किसानका उत्पादनलाई बजारसँग जोड्ने लक्ष्य

कुन्ताबेँसीमा कृषि हाटबजार सञ्चालन हुँदै, किसानका उत्पादनलाई बजारसँग जोड्ने लक्ष्य

काभ्रे । स्थानीय किसानले उत्पादन गरेका कृषि उपजको सहज बिक्रीवितरण र उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेँसीमा साप्ताहिक ‘साना किसान कृषि हाटबजार’ सञ्चालन हुने भएको छ । मण्डनदेउपुर कृषि सहकारी संस्था लिमिटेडले दसैँपछि हरेक शनिबार हाटबजार सञ्चालन गर्ने तयारी गरेको हो ।

हाट बजारको सुरुवात २०८३ असोज ३० गते शुक्रबार बिहान ६ः३० बजेदेखि संस्थाको भवन प्राङ्गण, कुन्ताबेँसी चोकमा गरिने जनाइएको छ। त्यसपछि भने प्रत्येक शनिबार नियमितरूपमा हाटबजार सञ्चालन हुनेछ। हाट बजारमा स्थानीय किसानले आफूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपज बिक्रीका लागि ल्याउन सक्नेछन् । यसबाट किसानलाई आफ्ना उत्पादन बिक्री गर्न सहज हुने, उपभोक्ताले ताजा कृषि उपज स्थानीय बजारमै खरिद गर्न पाउने तथा उत्पादन र बजारबीचको दूरी घट्ने अपेक्षा गरिएको छ।

कृषि उपज उत्पादन गरे पनि उचित बजार र मूल्य नपाउने समस्या किसानले लामो समयदेखि भोग्दै आएका छन्। बजारसम्म उत्पादन पुर्‍याउनुपर्ने झन्झट, बिक्रीको अनिश्चितता र बिचौलियामा निर्भर हुनुपर्ने अवस्थाले किसानको आम्दानीमा समेत असर पार्ने गरेको छ। स्थानीयस्तरमै हाट बजार सञ्चालन हुँदा किसानले उपभोक्तासँग प्रत्यक्ष कारोबार गर्ने अवसर पाउने र बिचौलियामाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्ला वर्षहरूमा काभ्रेपलाञ्चोकका विभिन्न पालिकामा कृषि हाटबजार सञ्चालनको अभ्यास विस्तार हुँदै गएको छ। बनेपामा तीन वर्षदेखि, धुलिखेल र मण्डनदेउपुरको नगरकोटमा दुई वर्षदेखि तथा पाँचखालमा गत असारदेखि हाटबजार सञ्चालन हुँदै आएको छ। यिनै प्रयासको निरन्तरताका रूपमा कुन्ताबेँसीमा पनि हाट बजार सुरु गर्न लागिएको हो।

कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउने यस्ता पहलप्रति अन्य पालिकाले पनि चासो देखाउँदै हाटबजार सञ्चालनको तयारी गरिरहेको जनाइएको छ। स्थानीय उत्पादनलाई स्थानीय बजारमै बिक्री गर्ने व्यवस्था विस्तार हुन सके किसानको आम्दानी वृद्धि, कृषि पेसाप्रति आकर्षण र स्थानीय अर्थतन्त्रको विकासमा योगदान पुग्ने विश्वास गरिएको छ। कुन्ताबेँसीमा सुरु हुन लागेको हाटबजारलाई प्रभावकारी बनाउन स्थानीय किसानको सहभागिता महत्त्वपूर्ण हुनेछ । नियमित रूपमा कृषि उपज बिक्रीवितरण हुने वातावरण बनेमा यसले किसान र उपभोक्ता दुवैलाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन २७, मंगलवार १९:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP