कालोटोपी डटकम
मेलम्ची (सिन्धुपाल्चोक)। स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन, बजारीकरण तथा उद्यमशीलताको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित मेलम्ची नगरपालिकाले ‘कोसेली घर’ सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
नगरपालिकाका अनुसार चाँडै सञ्चालनमा आउने कोसेली घरमार्फत नगरभित्र उत्पादन हुने कृषि उपज, घरेलु तथा हस्तकलाका सामग्री, स्थानीय खाद्य परिकार तथा अन्य मौलिक उत्पादनलाई एकीकृतरूपमा बिक्री–वितरण गरिनेछ । यसले स्थानीय उत्पादनलाई सहज बजार उपलब्ध गराउनुका साथै उपभोक्तालाई एउटै स्थानबाट गुणस्तरीय स्थानीय वस्तु खरिद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कोसेली घर सञ्चालनमा आएपछि स्थानीय किसान, महिला उद्यमी, युवा तथा साना व्यवसायीले आफ्ना उत्पादन बिक्रीका लागि नयाँ अवसर प्राप्त गर्ने नगरपालिकाको विश्वास छ । यसबाट उत्पादकले आफ्ना वस्तुको उचित मूल्य पाउनुका साथै स्थानीयस्तरमै रोजगारी सिर्जना, आयआर्जन वृद्धि र नगरको अर्थतन्त्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने पालिकाले जनाएकाे छ ।
नगरपालिकाले स्थानीय उत्पादन गर्ने व्यक्ति, समूह, सहकारी तथा उद्यमीलाई आफ्ना उत्पादनसहित नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ । कोसेली घरमार्फत स्थानीय उत्पादनलाई व्यापक बजारसम्म पुर्याउन नगरपालिका आवश्यक सहकार्य गर्न तयार रहेको जनाएको छ ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने अभियानका रूपमा हेरिएको यो पहल सफल भएमा मेलम्ची नगरपालिकाको आर्थिक तथा पर्यटन विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया