• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026

अवैध लागूऔषध काराेबारमा काभ्रेका अनिल तामाङसहित विभिन्न जिल्लाबाट २० जना पक्राउ

अवैध लागूऔषध काराेबारमा काभ्रेका अनिल तामाङसहित विभिन्न जिल्लाबाट २० जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-३ तिलिङ्गेटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु बस्ने काभ्रे घर भएका २९ वर्षीय अनिल तामाङ र काठमाडौँ गोलढुङ्गा बस्ने १९ वर्षीया मुना गुरूङ रहेका छन् । प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरीले बा.९० प ४८८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका-६ तिवारीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ मुलपानी घर भएका २४ वर्षीय सुवाष सुनुवार र मोरङ बेलबारी नगरपालिका-८ घर भएका २७ वर्षीय शेरबहादुर जोगी रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, इटहरी उपमहानगरपालिका-१९ पटेर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१९ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी विट भवानीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध स्पास्मो ४२ ट्याब्लेट र नाइट्राजेपाम २० ट्याब्लेटसहित सोही नगरपालिका-५ हर्दिया बस्ने २५ वर्षीय मनिष सुचिकारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-११ एकतानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने जुम्ला पातारसी गाउँपालिका-७ घर भएका १९ वर्षीय बिपिन थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-४ सामरी चोकबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३८ वर्षीय सुमन लामिछानेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले ना.३५ प ८५६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा मकवानपुरगढी गाउँपालिका-४ सामरी बस्ने ७४ वर्षीय बिष्णु लाल रुम्बासँग किनेको भन्ने खुल्न आए पश्चात प्रहरीले बिष्णुको घर तलासी गर्दा अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय २० ग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ ठाडाचोक बस्ने २५ वर्षीय मदन ठाडा मगरसमेत ५ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९५ मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले मदनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१५ कृष्ण प्रणामी चोकस्थित सत्यम होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय २० मिलिग्रामसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१५ भेडियाही बस्ने २० वर्षीय सनि सर्राफ, बारा कलैया उपमहानगरपालिका-२ राजदेवी टोल बस्ने १९ वर्षीय अनुराग कुमार सर्राफ र पर्सा विश्रामपुर गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ता चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुलसहित सोही नगरपालिका-११ बस्ने २६ वर्षीय सविन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले बा.९५ प ६२९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

धनुषा, विदेह नगरपालिका-१ हनुमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ ग्राम ८ सय १० मिलिग्रामसहित भारत मधुवनी हल्दिया बस्ने २८ वर्षीय गौतम कुमार ठाकुरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एए ५९९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

तनहुँ, व्यास नगरपालिका-४ हरिओम टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगरन ४ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुलसहित सोही नगरपालिका-४ पानीट्याङ्की बस्ने २४ वर्षीय समिर आलमलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १२, सोमबार १२:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP