ज्ञानमणि नेपाल कालोटोपी
देवीटार, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकालाई आर्थिक वर्ष २०८२/८३ का लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको छ।
गाउँपालिकामा जेठ १३ गते आयोजित एक कार्यक्रमका बीच महाभारत गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको हो।
गाउँपालिकाका अनुसार जन्मदेखि १५ महिनासम्मका २३१ जना तथा १६ देखि २३ महिनासम्मका १३४ जना बालबालिकालाई नियमित खोप सेवा सुनिश्चित गरिएको छ। सबै लक्षित बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको हो।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका खोप अधिकृत पार्थमणि न्यौपानेले महाभारत गाउँपालिका जिल्लाको पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गर्ने नवौं स्थानीय तह बनेको जानकारी दिनुभयो। उहाँले खोप कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा खोप अधिकृत पार्थमणि न्यौपाने सहभागी हुनुहुन्थ्यो। स्वास्थ्य शाखा प्रमुख हरिसिंह बिष्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद खनाललगायतले मन्तव्य राख्नुभएको थियो।
सि.अ.न.मि. सङ्गीता लामाले सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
प्रतिक्रिया