-अम्बिका धिताल
आज
घाम लागेपनि
पटक्कै उज्यालो छैन
खोलो बगिरहेको छ
बाढीको छालमा
पानी होइन
आमाहरूका आँसु बगिरहेका छन्।
ए बाढी !
तिमी पानी भएर आयौ
साथमा
कति घरका दीयो निभायौ
काख खोस्यौ
सिन्दूर पुछ्यौ
बुढेसकालको लौरो भाँच्यौ
आमाका आँखामा
जीवनभर ननिभ्ने प्रतीक्षा छोड्यौ ।
अझै पनि धेरै परिवार
आफन्तको प्रतीक्षामा
बाटो हेर्दै बसेका छन्
खोलाको प्रत्येक छालमा
आफन्तकै अनुहार खोजिरहेका छन् ।
आज धेरै दीपहरू
तिम्रै सम्झनामा बलेका छन्
शान्तिको कामनामा जलेका छन्
बेपत्ताको मिलनमा बलेका छन्
मानवता जीवितका लागि जलेका छन् ।
हे दिवंगत आत्माहरू !
नदीले लगे पनि
सम्झनाले बगाउने छैन
माटोमुनि निदाए पनि
हृदयभित्र
सदा अमर हुनेछौ
तिम्रा अधुरा सपनाहरू
यी दीपका ज्योतिमा झिलिमिली हुनेछन्
तिम्रा मौन आवाजहरू
हाम्रो अन्तरात्मामा गुञ्जिरहनेछन्
यी दीपहरू बलिरहनेछन्
आमाको आँखामा
फर्किने आशा रहेसम्म
प्रतीक्षाका द्वार
खुलै रहेसम्म
तिम्रो सम्झना
जीवित रहेसम्म….!!
प्रतिक्रिया