विराटनगर । कोशी प्रदेशमा रहेका युवा क्रिकेट प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्ने भएको छ । ग्रासरुट तहदेखि नै प्रतिभा पहिचान गरी उनीहरूलाई उचित अवसर र मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको दोस्रो संस्करण आयोजना गर्न लागिएको हो ।
विराटनगर किङ्सले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १ देखि ५ गतेसम्म (सेप्टेम्बर १७ देखि २१, २०२६) सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेश क्रिकेट संघ अन्तर्गतका पाँच जिल्लाका युवा क्रिकेट खेलाडीबीच टी–२० फर्म्याटमा मेरीलेबोन विराटनगर ज्वाला क्रिकेट मैदान, विराटनगर–६ मा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामार्फत विभिन्न जिल्लामा रहेका प्रतिभाशाली युवा खेलाडीलाई एउटै प्लेटफर्ममा ल्याई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिने विराटनगर किङ्सका टिम म्यानेजर विजय धितालले जानकारी दिनुभयो । ग्रासरुट तहबाटै क्रिकेट प्रतिभाको खोजी, विकास र भविष्य निर्माण गर्ने अभियानका रूपमा कार्यक्रमलाई अघि बढाइएको हो ।
‘ड्रिम टु प्ले’ प्रतियोगिताको अर्को आकर्षण विराटनगर किङ्सको ‘आइकोनिक प्लेयर’ छनोट रहेको छ । प्रतियोगिताका क्रममा खेलाडीको प्रदर्शन, क्षमता, अनुशासन, क्रिकेटिङ स्किल तथा सम्भावनालाई मूल्याङ्कन गरी उत्कृष्ट प्रतिभामध्येबाट आइकोनिक प्लेयर छनोट गरिने जनाइएको छ । छनोट हुने खेलाडीलाई व्यावसायिक क्रिकेटतर्फ अघि बढ्न थप प्रेरणा र अवसर प्रदान गरिनेछ । विराटनगर किङ्सले हरेक प्रतिभासँग आफ्नो एउटा सपना हुने र त्यसलाई वास्तविकतामा बदल्न उचित अवसर आवश्यक पर्ने उल्लेख गर्दै ‘ड्रिम टु प्ले २०२६’ त्यही अवसर सिर्जना गर्ने महत्वपूर्ण कदम भएको जनाएको छ ।
कोशी प्रदेशका पाँच जिल्लाबाट सहभागी हुने युवा खेलाडीको प्रतिभा, प्रतिस्पर्धात्मक भावना र क्रिकेटप्रतिको समर्पणले कार्यक्रमलाई विशेष बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताले कोशी प्रदेशमा क्रिकेटको आधार तह अझ मजबुत बनाउन तथा नयाँ प्रतिभालाई व्यावसायिक क्रिकेटतर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ ।
प्रतिक्रिया