काठमाडौं । गृह मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट २६३ सरकारी कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । मन्त्रालयका अनुसार ३४२ सरकारी कार्यालयमा आंशिक क्षति भएको छ ।
आन्दोलनकारीहरूले मुख्यरूपमा सरकारी/सार्वजनिक निकायलाई लक्षित गरेर तोडफोड र आगजनी गरेको देखिएको छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, संसद्, अदालत र राष्ट्रपति कार्यालय हुँदै तलैसम्म सरकारी कार्यालय निसानामा परेका छन् ।
प्राप्त विवरण ८२ वटा प्रहरी कार्यालय पूर्ण क्षति भएका छन् । आंशिक क्षति पुगेका प्रहरी कार्यालयको संख्या १२४ छ । आठ जिल्ला प्रशासन कार्यालयहरू पूर्णरूपमा क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक छ । आन्दोलनकारीले व्यापारिक र निजी गरी ४२ भवनमा पूर्ण क्षति पुर्याएका छन् । यसबाहेक ११८ वटा व्यापारिक र निजी भवनमा आंशिक क्षति पुगेको छ ।
आन्दोलनकारीको निसानामा दलका कार्यालयहरू पनि परेका छन् । अहिलेसम्म प्राप्त विवरण अनुसार विभिन्न पार्टीका विभिन्न तहका ३५ वटा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । आंशिक क्षति पुगेका पार्टी कार्यालयको संख्या ८६ छ । आन्दोलनका क्रममा मन्त्रालय तथा केन्द्रीय निकायहरूका सयौँ सवारीसाधनमा क्षति पुर्याइएको छ । महँगा मूल्यका गाडीमा आगजनी र तोडफोड गरिएको छ । ठूलो संख्याका मोटरसाइकलमा पनि क्षति छ ।
प्रारम्भिक तथ्यांकअनुसार सवारीतर्फ सबैभन्दा बढी क्षति सर्वोच्च अदालतमा छ । सर्वोच्चका ५१ वटा गाडी पूर्ण रूपमा नष्ट भएका छन् भने कम्तीमा सयवटा मोटरसाइकल पनि जलेका छन् । यी सर्वोच्च अदालतका सवारी मात्र हुन् । जिल्ला अदालतहरूमा ठूलो संख्याका सवारीमा क्षति भएको छ, विवरण आउन बाँकी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका १३५ सवारीमा क्षति पुगेको छ । त्यसमा ४७ वटा गाडी जलेको र १३ वटामा तोडफोड भएको छ । ७४ मोटरसाइकल जलेको र एउटामा तोडफोड भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३० वटा गाडीमा पूर्ण क्षति छ । मन्त्रालयको सचिव र मन्त्रीकै गाडी पूर्ण क्षति भएका छन् । गाडी नभएपछि अहिले सचिवलाई वैकल्पिक व्यवस्था गरिएको छ ।
शिक्षा मन्त्रालयका २६ गाडी र ४७ वटा मोटरसाइकल पूर्ण क्षति छ । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १६ गाडी र १५ मोटरसाइकलमा क्षति पुगेको छ । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक विभागमा ७० गाडी र ८० मोटरसाइकलमा पूर्ण क्षति छ । त्यस्तै, सहरी विकास तथा भवन निर्माण विभागका ४० गाडी र २७ मोटरसाइकल आगजनीले नष्ट भएका छन् । चारवटामा तोडफोड भएको छ ।याे खबर हामीले नयाँ पत्रिकाबाट लिएका हाैं
तस्बीरः आन्दाेलनकारीले ध्वस्त पारेकाे बनेपा नगरपालिकाकाे प्रशासनिक भवन
प्रतिक्रिया