काठमाडौँ । मनसुन प्रवेश गरेयता गत वर्षको तुलनामा विपद्का घटना बढे पनि मानवीय क्षति भने कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्वसूचना प्रणालीको प्रभावकारी उपयोग, बाढीपहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय तथा प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो ।
प्राधिकरणका अनुसार नेपालमा मनसुन प्रवेश गरेयताका ५९ दिनमा एक हजार ३७३ घटना भएका छन् । जसमा ६७ जनाको मृत्यु भएको छ । गत वर्ष सोही अवधिमा ५७१ वटा विपद्का घटना दर्ता भएकोमा ४३ जनाको मृत्यु भएकाे थियाे । प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपद्का घटनाका आधारमा मृतकको सङ्ख्या करिब ७.५ प्रतिशत रहेकोमा यस वर्ष करिब पाँच प्रतिशत रहेको बताउनुभयो । मनसुन बाहिरिन अझै करिब एक महिना १५ दिन बाँकी छ ।
नेपालमा यस वर्ष असार ५ गते मनसुन प्रवेश भयो । यस अवधिमा आठ जना बेपत्ता भएका छन् । १२१ जना घाइते र एक हजार ६०४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष चट्याङका घटनामा कमी आएको छ । पहिरो भने चार गुणाले बढेको छ । बाढी र भारी वर्षासमेत गत वर्षको तुलनामा बढेको छ ।
द्रुत खोज तथा उद्धार
प्राधिकरणले विपद्का घटना वृद्धि हुँदा उद्धार, राहत तथा पुनर्स्थापना कार्य द्रुत गरेको जनाएको छ । बाढी प्रभावित ५५ जिल्लामा पूर्वसूचना तथा पूर्वकार्यका लागि साइरन सञ्चालनमा रहेको, देशभरि १९७ वटा दमकल र ४६० वटा एम्बुलेन्स सञ्चालनमा छन् । राहत सामग्री व्यवस्थापनका लागि ५३४ वटा गोदामघर, उद्धारका लागि ७४ वटा ब्याकहोल लोडर, दुई वटा क्रेन, ३७ वटा हेलिकोप्टर, १३ वटा स्थानान्तरण गर्न सकिने पुलको व्यवस्था गरिएको छ ।
यसैगरी पानीबाट उद्धार गर्न सकिने ६१२ वटा डुङ्गा, ८१ वटा एक्साभेटर विपद् व्यवस्थापनका लागि प्रयोगमा ल्याउन सकिने गरी तयारी अवस्थामा राखिएको छ ।प्राधिकरणले मनसुनका लागि कार्यात्मक पूर्वतयारी अन्तर्गत केन्द्रीय विपत् व्यवस्थापन कोषमा सात अर्ब ५६ करोड २३ लाख ९२ हजार ४४५ रहेको जनाएको छ ।
विपद् प्रतिकार्यमा प्रत्यक्ष संलग्न रहने प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, फोकल पर्सन तथा स्थानीय तहका जिम्मेवार पदाधिकारीलाई घटना हुनुपूर्व नै सचेतना सन्देश पठाउने व्यवस्था गरिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले बताउनुभयो । सो संयन्त्रमार्फत तीन हजारभन्दा बढी अधिकारीलाई पूर्वसचेतना सन्देश पठाइएको छ । गाेरखापत्रबाट
प्रतिक्रिया