काठमाडौँ। ‘जेनजी आन्दोलन’ का क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिले बीमा क्षेत्रको इतिहासमै ठूलो दाबी परेको छ ।
सङ्घीय राजधानी काठमाडौँसँगै देशव्यापीरूपमा भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा भौतिक संरचनामा भएको तोडफोड र आगजनीबाट उत्पन्न क्षतिको बीमा दाबी इतिहासकै सर्वाधिक भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म दुई हजार ४७८ वटा बीमा दाबी दर्ता भई जम्मा २२ अर्ब २५ करोड ६५ लाख रुपैंयाँ बराबरको दाबी आएको छ । यस्तो दाबी बढ्ने क्रम जारी छ ।
यसअघि २०७२ वैशाख १२ र २९ गते गएको विनासकारी भूकम्पका कारण भएको क्षतिमा साढे १७ हजार बीमाको १७ अर्ब ६५ करोड रुपैंयाँको बीमा दाबी परेको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले अहिलेको बीमा दाबी अझै बढ्ने तर यत्ति नै बढ्छ भनेर प्रक्षेपण गर्न नसकिने बताउनुभयो । उहाँका अनुसार बीमा दाबी आउने क्रम जारी छ । सञ्चालनमा रहेका १४ वटा निर्जीवन कम्पनी र चार वटा निर्जीवन माइक्रो इन्स्योरेन्स कम्पनीमा क्षतिको बीमा दाबी परेको छ ।
आन्दोलनकारीले सरकारी निकायका धेरै पूर्वाधार र निजी क्षेत्रका धेरै व्यापारिक संरचना, होटेल, सोरुम, सुपरमार्केट, सञ्चारगृह, उद्योग गोदामदेखि निजी सवारी, निजी प्रयोजनका निवासलगायतलाई ध्वस्त बनाएका थिए । गाेरखापत्रबाट
प्रतिक्रिया