काठमाडौँ। जेनजी आन्दाेलनका क्रममा भदाै २३ र २४ गते भएका आगजनी र तोडफोडका कारण निजी क्षेत्रमा १५ हजारभन्दा बढीको रोजगारी प्रभावित भएको छ । यो धेरै रोजगारी प्रदान गरिरहेका होटल तथा पर्यटन क्षेत्र, भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, चन्द्रागिरि केबलकार, मौलाकालिका केबलकारलगायत संस्थाले प्रदान गरेको रोजगारीको संख्या हो ।
धेरै उद्योग व्यवसाय र व्यापारिक मलमा क्षति पुगेकाले प्रत्यक्षरूपमा रोजगारी प्रभावित भएकाको संख्या अझै बढ्ने सरोकारवालाको भनाइ छ । तर व्यवसायिक घरानाले व्यवसायमा क्षति पुगे पनि कर्मचारीलाई तत्काल रोजगारीबाट नहटाउने जनाएका छन् ।
भाटभटेनी सुपरमार्केटका २८ शाखामा करिब १० हजार कर्मचारी कार्यरत छन् । आन्दोलनका क्रममा २१ शाखामा क्षति पुगेको छ । तीमध्ये ९ शाखा तोडफोड भए पनि सञ्चालनमा आइसकेका छन् । आगजनीबाट पूर्ण ध्वस्त भएका १२ शाखा हाल सञ्चालनमा छैनन् । भाटभटेनीले कुनै पनि कर्मचारीलाई रोजगारीबाट ननिकाल्ने र तत्काल अरू शाखामा काम दिने बताएको छ ।
हानको तथ्यांकअनुसार होटल तथा आतिथ्य क्षेत्रमा क्षति पुग्दा दुई हजार हाराहारीको रोजगारी प्रभावित भएको छ । सीजी होल्डिङ्स, सीजी इलेक्ट्रोनिक्स, सीजी अटोमोबाइल्स, केटीएम सीटीलगायतमा क्षति पुग्दा करिब ५ हजार कर्मचारी प्रभावित भएका छन् ।
काठमाडौंको चन्द्रागिरि र नवलपरासीको मौलाकालिका केबलकारमा तोडफोड हुँदा करिब ६ सय रोजगारी प्रभावित भएको छ । चन्द्रागिरी केबलकारमा करिब साढे ३ सय र मौलाकालिका केबलकारमा करिब २ सय रोजगार छन् । निजी लगानीका व्यवसायिक प्रतिष्ठान तथा सम्पत्तिमा परेको क्षतिबाट करिब १५ हजार बढीको रोजगारी प्रभावित भएको प्रारम्भिक आँकलन उद्योग परिसंघले गरेको छ । आजकाे कान्तिपुरबाट
प्रतिक्रिया