काठमाडौँ । आईसीसी टी-२० विश्वकपको अभ्यास खेलमा नेपालले लगातार दोस्रो जीत दर्ता गरेको छ । सोमबार भएको दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले हराएको हो ।
यसअघि नेपालले आफ्नो पहिलो अभ्यास खेलमा आयोजक ओमानलाई ६ विकेटले हराएको थियो । दोस्रो अभ्यास खेलमा पहिले ब्याटिङ गरेको नेपालले सात विकेट गुमाएर एक सय ७० रनको सम्मानजनक स्कोर तयार पारेको थियो । कतारले भने ६ विकेट गुमाएर एक सय ५४ रन मात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय पाली खेल्दै ५६ रन बनाए । यस क्रममा भुर्तेलले ३३ बलको सामना गरी तीन छक्का र पाँच चौका प्रहार गरे ।
चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले पनि जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै अविजित ३८ रनको योगदान गरे । उनले २९ बलको सामना गरी दुई छक्का र एक चौका हिर्काए ।
प्रतिक्रिया