काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो तर त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ ।
हाल जनसङ्ख्या निरन्तर बृद्धि भइरहेको छ । यही अनुपात भइरहने हो भने सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र सन् २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ ।
जनसङ्ख्या बृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो शहरीकरण र बसाइसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ । विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ ।
राष्ट्र सङ्घीय जनसङ्ख्या कोषले चौध देशका १४ हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षणअनुसार प्रजनन उमेरका अधिकांश वयस्कले इच्छाअनुसार बच्चा नजन्माउनुको कारण बालबालिकाको हेरचाहमा समस्या, रोजगारीको असुरक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय क्षतिलाई मानिएको छ ।
गत जुन ११ मा विश्व जनसंख्या दिवसका अवसरमा मन्तव्य व्यक्त गर्दै महासचिव एन्टोनियो गुटरेसले निष्पक्ष, शान्तिपूर्ण र आशाले भरिएको विश्व निर्माण गर्न युवालाई साथ दिनुपर्नेमा जोड दिएका छन् । उनले दिगो विकास, शान्ति र मानव प्रतिष्ठाका लागि उनीहरूका अधिकारको समर्थन आवश्यक भएको पनि बताए । युवाले चाहेको परिवार सिर्जना गर्न उनीहरूलाई सशक्त बनाउने यो वर्षको जनसङ्ख्या दिवसको नारा रहेको थियो ।एजेन्सी
प्रतिक्रिया