काठमाडौं । सोमबार राति यूएईको शारजाह क्रिकेट मैदानमा नेपालले वेस्ट इन्डिजविरुद्ध ९० रनको सानदार जित निकालेको छ । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज नेपालसामु निरीह बन्याे ।
नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमै समेटियो । वेस्ट इन्डिजलाई सस्तैमा रोक्न नेपालका मोहम्मद आदिल आलमले सर्वाधिक चार विकेट लिए ।
वेस्ट इन्डिजका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेखनीय रहन सकेन । जेसन होल्डरले २१, अकिम अगस्टेले १७ र आमी जांगोले १६ रन बनाए । अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल खडा गरेको थियो । नेपालबाट ओपनर आसिफले सर्वाधिक ६८ रन बनाए । उनले ४७ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।
वेस्ट इन्डिजका बलिङतर्फ अकिल हुसेन र काइल मेयर्सले समान दुई–दुई विकेट लिए । यसबाहेक, जेडिया ब्लेड्सले एक विकेट लिए ।
नेपाली क्रिकेटले इतिहासमै टेस्ट राष्ट्रविरुद्धको शृंखला जितेको यो पहिलोपटक हो । नेपाली टिमले आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध खेलेको पहिलो शृंखलामा नै जित निकालेको हो ।
दोस्रो जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुने तालिका छ ।
प्रतिक्रिया