सिन्धुपाल्चाेक । जिल्लाकाे मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे मानेडाँडास्थित गोल्मेश्वरी आधारभूत विद्यालयमा आज सिकाइ उपलब्धि बृद्वि सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सोही विद्यालय र छिमेकी श्री क्यौलेठाना आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र शिक्षक कर्मचारीको सहभागितामा सञ्चालन भएको हो। कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत विज्ञ योगबहादुर थापाले शिक्षण सिकाइ प्रक्रियामा सुधार गरी प्रभावकारी बनाउन सके मात्र उपलब्धि बृद्वि हुने बताउनुभयो ।
उहाँले यसका लागि शिक्षकहरुले आफू समय सापेक्ष रूपान्तरण भइ प्रतिबद्वता र जिम्मेवारीलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । ‘ शिक्षकमा क्षमता, उत्तरदायित्व र पेशाप्रति लगावको प्रधानता आवश्यक छ।’ – स्रोत विज्ञ थापाले भन्नुभयो ।

अन्तर्क्रियामा विषयगत र तहगत सिकाइ उपलब्धि, यसका चुनौतीहरु, सुधारका लागि गर्नुपर्ने उपाय एवम् प्रयासहरुबारे छलफल गर्नुका साथै योजनाबद्व कक्षा शिक्षण, शिक्षण सुधार योजना, शैक्षिक सामग्रीको निर्माण तथा प्रयोग, व्याख्यान विधिको अति कम प्रयोग गरी छलफल, प्रश्नोत्तर, समूह कार्य, परियोजना कार्यमा जोड दिनुपर्ने लगायतका विषयवस्तुमा स्रोत विज्ञ थापाले सहजीकरण गर्नुभयो ।

गोल्मेश्वरी आविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक सुनिलकुमार भण्डारी र क्यौलेठाना आधारभूत विद्यालयका भरतकुमार मल्लले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सञ्चालन गोल्मेश्वरी आधारभूत विद्यालयका शिक्षक पाण्डब अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया