कञ्चनपुर । कोठाको एउटा कुनामा आमा, बुवा, अर्को कुनामा बहिनी छन् । दिउँसैदेखि उनीहरु मौन छन्, अनि घरमा कुनै दीप बलेको छैन। तिहारको उल्लास बढ्दै जाँदा टोलमा देउसी, भैली र तिहारका गीत बजिरहेछन्। भारतसँग सीमा जोडिएको यो सहरमा छिनछिनमा पटका पड्किरहेछन् तर यो घरलाई केहीले छोएको छैन।
भीमदत्त-३, कञ्जनपुरस्थित एउटा एकतले घरमा दिउँसैदेखि मान्छे आउने जाने मात्र गरिरहेछन् । ती कोही भैली खेल्न आएका होइनन्। वातावरण पूरै सन्नाटा छ।
चौधरीमार्ग-६० स्थित यो घरको व्यथा फरक छ। वरपरका धेरै घरभन्दा भिन्न। फ्लाई दुबई युएईको सरकारले सञ्चालन गरेको वायुसेवा कम्पनी हो। यसले काठमाडौंका लागि दैनिक ८ वटा उडान गर्छ। सधैँ झैँ सोमबार लक्ष्मीपूजाको दिन पनि फ्लाई दुबईको फ्लाइट नम्बर ५३९ काठमाडौं अवतरण गर्यो।
दिउँसो २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइटले धेरै नेपाली स्वदेश फर्कायो । जहाजले ल्याएका मध्ये एक जना थिए- विपिन जोशी। तर होइन। उनको कथा फरक छ।
फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ५३९ काठमाडौं अवतरण गर्दा भिमदत्त-३ स्थित जोशी परिवारमा पीडा अझ थपियो । त्यो उडानले विपिन जोशीको शव स्वदेश फर्काएको थियो। नेपाली सेनाको स्काइ ट्रकले साँझ ६:१० बजे शवलाई काठमाडौंदेखि धनगढी विमानस्थल ल्याइपुर्यायो। त्यहाँदेखि महेन्द्रनगरसम्मको दूरी सवारी साधनलाई एक घण्टाको हो। सेनाले समन्वय गरेको शव सोमबार राति ७:५० बजे भीमदत्त-३ स्थित घरैमा पुग्दा त्यहाँको अवस्था पीडादायी थियो।
आफ्नै आर्शीवाद शिरोपर गरेर इजरायल गएको छोरा कफिनमा फर्किंदा आमा पदमाको भक्कानो फुट्यो। उनले आफूलाई सम्हाल्न सकिरहेकी थिइनन्। डाको छोडेर रुँदारुँदा उनी अर्धचेत भइन्। उनलाई पानी छम्किएर शान्त गराउनु परेको थियो।
विपिनको अन्त्येष्टि आज
कञ्जनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार विपिनको अन्त्येष्टि मंगलबार महाकाली नदीको घाटमा हुनेछ।
शब्द र तस्बिरः प्रकाशचन्द्र तिमिल्सेनाबाट
प्रतिक्रिया