• २०८३ असार ३२ | Thu, 16 Jul 2026

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा बागमतीले बगाएकाे पशुपति मन्दिरकाे पुनर्निर्माण

गिम्दी प्रवासी युवा समाजको अगुवाइमा बागमतीले बगाएकाे पशुपति मन्दिरकाे पुनर्निर्माण

ललितपुर । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ७ अन्तर्गतको गिम्दीस्थित कटुवा बेँसीमा भगवान पशुपतिनाथको मन्दिर पुनः निर्माण भएको छ । गिम्दीका स्थानीय नागरिकहरुको हात र विदेशको माटोमा पसिना बगाएका छोराछोरीहरुको समर्पणले बाढीले बगाएको मन्दिर पुनः उभ्याइएको छ। गिम्दी प्रवासी युवा समाजको निरन्तर प्रयास र अथक अभियानबाट ढलेको मन्दिर उभ्याउन सफल भएको हो ।

जिर्ण अवस्थामा रहेको कटुवाबेँसीको पशुपतिनाथको मन्दिर २०८१ साल असोजमा बागमती खोलामा आएको भीषण बाढीले पूर्णरूपमा बगाएको थियो। त्यसपछि प्रवासी युवाहरुको मनमा एउटा संकल्प अंकुरायो “हाम्रो संस्कृतिको पहिचान मेटिनु हुँदैन।” त्यसपछि सुरु भयो मन्दिर पुनर्निर्माणको अभियान, जसले गिम्दीका हरेक वासिन्दाको हृदय छोयो।

गिम्दी प्रवासी युवा समाजले ०७६ साल असारदेखि अभियान नै संचालन गरेर विभिन्न सामाजिक कार्यमा हात हालेको थियो । युवा समाजले पाँच वर्षको छोटो अवधिमा गिम्दीलाई नयाँ रुप दिएको छ । कहिले अस्पतालसम्म बिरामी पुर्याउने एम्बुलेन्स किनेर, कहिले मृगौला पीडितलाई सहयोग गरेर, कहिले आगलागी पीडितका आँखामा आशाको किरण थपेर । त्यतिमात्र होइन कोरोना महामारीको कठिन समयमा गिम्दी स्वास्थ्य चौकीमा दुईवटा बेड र अन्य आवश्यक सामग्रीहरू वितरण गरेर उनीहरूले समाजलाई प्रत्यक्ष राहतसमेत दिएका थिए। त्यही हातहरूले आज बाढीले ढालेको मन्दिर पनि उठाएका छन् , जसमा आस्था, संस्कार र संवेदना सबै मिसिएका छन्।

गिम्दी प्रवासी युवा समाजका संयोजक कृष्णबहादुर जर्घा मगरका अनुसार यो समाजले अहिलेसम्म १८ वटा सामाजिक अभियान सञ्चालन गरिसकेको छ। जसमा एम्बुलेन्स खरिद,पशुपति मन्दिर पुनर्निर्माण र नारायण डाँडामा नारायणको मुर्तिसहितको मन्दिर निर्माण सबैभन्दा महत्वपूर्ण मानिन्छ।

मन्दिर निर्माणको लागि स्वर्गीय आमा मीनकुमारी चौरेलको सम्झनामा बुबा बुद्धिकृष्ण चौरेलको सहमतिले बिनोद चौरेलबाट र झन्झ नारायण दाहालले जग्गा दान गरेका थिए । पशुपतिनाथ मन्दिर निर्माण अभियान २०८१ साल असार १ गतेबाट शुरु गरिएको भनिएको छ । उक्त मन्दिर निर्माणमा स्थानीय बागमती गाउँपालिकाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेर साथ दिएको छ भने हाईड्रोपावर कम्पनीले २२ हजार बराबरको गिट्टी सहयोग गरेको छ।

स्थानीय नागरिकहरू स्वयंले पनि आफ्नो आम्दानीबाट ३ लाख ६६ हजार ३६ रुपैयाँ बराबरको सहयोग संकलन गरेका छन् । हालसम्म जम्मा उठेको रकम ११ लाख २ हजार ६ सय १६ रुपैयाँ पुगेको र त्यसमध्ये ९ लाख १४ हजार ४ सय ५ रुपैयाँ खर्च भइसकेको संयोजक मगरले जानकारी दिए। अझै ९१ हजार ७ सय ११ रुपैयाँ उठ्न बाँकी रहेको र अभियानको क्रममा पहिलेको बाँकी रहेको २५ हजार २ सय रुपैयाँ पनि रहेको उनले जानकारी दिएका छन् । अभियानले पारदर्शितासहित सबै हिसाब सार्वजनिक गर्ने गरेको संयोजक मगरले बताएका छन् ।

युवा समाजले गरेको यो पुनर्निर्माण मात्र होइन, यो एउटा सन्देश हो , विदेशमा रहेर पनि आफ्नो गाउँ, संस्कृति र धर्मप्रति निष्ठावान बन्न सकिन्छ भन्ने गतिलो उदाहरण हो यो । गिम्दीका युवाहरूले आफू बिदेशमा पसिना बगाएर कमाएको केही पैसालाई समाजको विकासमा लगानी गर्दै आएका छन्। यही त्याग र समर्पणका कारण गिम्दीमा परिवर्तनको लहर चलेको छ। आज मन्दिरको पुनर्निर्माणले गाउँका वृद्धहरूका आँखामा श्रद्धा फर्किएको छ भने गिम्देली युवाहरूको मनमा गर्व पलाएको छ।

अहिले मन्दिर निर्माणको अन्तिम चरणमा पुगेको छ । रंगरोगन र कम्पाउण्ड निर्माणको काम बाँकी रहेको बुझिएको छ । आगामी मंसिर २ गते उक्त पशुपतिनाथ मन्दिरको भव्य उद्घाटन गरिने तयारी भइरहेको छ। सोही दिन मन्दिर परिसरमा परम्परागत पशुपति जात्राको आयोजना पनि हुनेछ। त्यो दिन केवल मन्दिरको उद्घाटन होइन, गिम्दीका प्रवासी युवाहरूको एकता र आस्थाको उत्सव हुनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २५, मंगलवार ०५:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP