• २०८३ भाद्र २८ | Sun, 13 Sep 2026

सन्दर्भ प्रथम राष्ट्रिय च्याउ दिवसः व्यवसायिक च्याउखेतीका सम्भावना र जान्नै पर्ने केही तथ्यहरू

सन्दर्भ प्रथम राष्ट्रिय च्याउ दिवसः व्यवसायिक च्याउखेतीका सम्भावना र जान्नै पर्ने केही तथ्यहरू

  • ज्ञानमणि नेपाल कालाेटाेपी

काठमाडौँ । आज नेपालमा प्रथम च्याउ दिवस मनाइँदैछ । गत पुस ११ गते सरकारले गरेकाे निर्णय अनुसार हरेक वर्ष पुस १५ गते मनाइन थालिएकाे हाे । नेपालमा ३५ हजार किसान च्याउ खेतीमा संलग्न छन् । उनीहरुलाई प्राेत्साहन र थप किसानलाई यस खेतीमा संलग्न गराउने अभिप्रायका लागि याे दिवस मनाउन थालिएकाे हाे । यसै सन्दर्भमा हामीले यहाँ आज नेपालमा च्याउ खेतीका सम्भावनाबारे विशेष सामाग्री प्रस्तुत गरेका छाैं ।

हाम्रो समाजमा कुनै उदाहरण दिनुपर्यो भने वा केहीसँग तुलना गर्नुपर्दा च्याउसरी उम्रिएका वा च्याउ खाओस् न स्वाद पाओस् जस्ता शब्दहरू प्रयोग गरेर विषय र प्रसंग जोड्ने चलन हिजोआज पनि छ । तर, अहिले च्याउ उखानमा मात्र सीमित रहेन । यसले एउटा व्यवसायिकता पनि शुरू गरिसकेको छ । च्याउ त्यतिकै पनि उम्रन्छ। यसको खेतीका लागि त्यति धेरै खर्च गर्नुपर्दैन भन्नेहरू पनि छन् । तर, त्यस्ता आफैं उम्रिएका जंगली च्याउको सेवनले धेरैको ज्यान लिएका घटनाहरू दैनिकरूपमा सुनिएका छन् । तैपनि मानिसले जंगली च्याउप्रति थोरै पनि सजगता अपनाएको पाइँदैन ।

नेपालमा च्याउखेतीका धेरै सम्भावनाहरू छन् । त्यसैले पछिल्ला दिनहरूमा यसको व्यवसायिक खेती गर्नतिर कृषकहरूको आकर्षण बढेको पाइन्छ। एक अध्ययनअनुसार नेपालमा करिब १ हजार प्रजातिका च्याउ पाइन्छन् । तर, ती सबै खानयोग्य हुँदैनन् । १ सय १० प्रजातिका खानयोग्य च्याउहरूले मानव जीवनमा धेरै लाभ पुर्याएका छन् । बाँकी च्याउ विषालु र अखाद्य भएको भए पनि कुन खानयोग्य र कुन अयोग्य भनेर छुट्याउन नसक्दा यसको सेवनले नेपालमा मात्रै वार्षिक ३ दर्जनभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । च्याउका फाइदाहरू धेरै सुनिए पनि सबै च्याउ खानयोग्य छैनन् भन्ने कुराको यथार्थ बुझ्न नसक्दा यो धेरै नेपालीको काल बनिरहेको छ ।

प्रायःजसो वर्षायाममा जंगल र पहाड अनि कुहिएका काठमा उम्रिने च्याउ एक प्रकारको ढुसिकै प्रजाति हो । कतिपयले यसलाई वनस्पती भन्छन् । तर, पनि खासमा यो लेउ र ढुसीकै वर्गमा पर्छ । नेपालमा पाइनेमध्ये १ सय १० जातका च्याउ खानयोग्य, १३ प्रजातिका औषधीय गुणले भरिएका, ४५ जातका च्याउ पूर्णरूपमा विषाक्त रहेको पाइएको छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का अनुसार नेपालमा ३ सय प्रजाति च्याउ पाइन्छन् र त्यसमध्ये ३० प्रजाति विषालु छन् । जंगलमा पाइने सयौंथरि च्याउमध्ये १० प्रजाति मात्र खानयोग्य छन् । अरू जात भने अनुसन्धानकै क्रममा रहेका छन् । खानयोग्य च्याउ अन्य खाद्यवस्तु जस्तै पौष्टिक तत्त्वले भरिएको हुन्छ । यसको व्यवसायिक खेतीबाट नेपालमा पनि कृषकले धेरै मात्रामा रोजगारी पाउने सम्भावनामा भने अब शंका रहेन।

च्याउखेतीका सम्भावना र फाइदाहरू केलाउँदै जाने हो भने, कतिपय च्याउले क्यान्सर जस्तो भयानक रोगको रोकथाम पनि गर्न सक्ने विशेषज्ञहरूले बताएका छन् । यसरी क्यान्सरको समेत औषधीको काम गर्ने च्याउलाई जापानी भाषामा सिताके च्याउ भनिन्छ। नेपालीमा यसको नाम मृगे च्याउ हो। यो च्याउको डेढ दशकदेखि नेपालमा व्यवसायिक खेती शुरू गरिएको छ। अन्य सामान्य च्याउ उमार्न जस्तो सिताके च्याउ सजिलो छैन । उत्तिस वा कटुसको काठका गिँडहरूमा प्वाल पारेर त्यसभित्र च्याउका बीउ रोप्दै मैनले टाल्नुपर्छ। अनि ती काठका गिँडहरूलाई नियमितरूपमा पानीमा डुबाएपछि ६ महिनामा बल्ल च्याउ उम्रन्छ। एकपटक उम्रिएपछि यसबाट ५ वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ। नेपाली बजारमा यो प्रतिकेजी एक हजार रुपियाँसम्ममा बिक्री हुने गरेको छ।

एक अध्ययनअनुसार नेपालमा करिब १ हजार प्रजातिका च्याउ पाइन्छन् । तर, ती सबै खानयोग्य हुँदैनन्। १ सय १० प्रजातिका खानयोग्य च्याउहरूले मानव जीवनमा धेरै लाभ पुर्याएका छन् ।

पछिल्ला वर्षहरूमा नेपालमा च्याउखेतीतर्फ लाग्नेहरूको संख्या बढ्दै गएको छ। सामान्यरूपमा परालमा उमारिने च्याउहरूको बजारमा पहुँच धेरै छ । यसको खेती थोरै लगानीमै गर्न सकिन्छ । २० हजारभन्दा धेरै कृषक अहिले यसमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ। नेपालमा उत्पादन हुने गरेका विभिन्न २१ प्रजातिका च्याउले विश्व बजारमा पनि आफ्नो हिस्सा जोगाएको छ।

विश्वमा च्याउको कुरा गर्ने हो भने १ लाख ४० हजार प्रजातिका च्याउ रहेको अनुमान गरिन्छ। यद्यपि १४ हजार प्रजाति मात्र पुष्टि भएका छन् । पुष्टि भएकामध्ये ५० प्रतिशत जति खानयोग्य वर्गमा पर्छन् । यसो भए पनि हालसम्म ३ सय प्रजातिको मात्रै व्यवसायिक खेती गरि प्रयोगमा आएका छन् । १० प्रतिशत च्याउ अत्यन्तै घातक छन्, जसको सेवनले केही घन्टामै मानिसको मृत्यु हुन्छ । अमेरिकामा मात्रै प्रति १ लाखमा ५ जना विषालु च्याउ खाएकै कारण मर्ने गरेको अध्ययनले देखाएको छ। विश्वमा करिब चार हजार जनाले प्रत्येक वर्ष विषालु च्याउकै कारण ज्यान गुमाउने गरेको देखिएको छ।

नेपालमा पछिल्ला केही वर्षयता विशेषगरि वर्षायाममा जंगलतिर भेटिएका च्याउ खाएकै कारण वर्षेनी ३ दर्जन जतिको ज्यान गएको र सयौंको संख्यामा घाइते हुने गरेको तथ्य आएको छ । जंगलतिर घाँस, सोतर गर्न जाने र त्यहाँ भेटिएका च्याउ घर ल्याएर खाँदा परिवार नै सखाप हुने गरेका दुःखद घटना सार्वजनिक भए पनि यसको शृंखला नरोकिनु पक्कै पनि विडम्बना हो।

कतिपय च्याउ क्यान्सर जस्तो रोगको उपचार हुने औषधीय गुणले भरिपूर्ण हुन्छन् । तर, सबै च्याउ मानिसका लागि हितकर हुँदैनन् । विषालु च्याउ पनि हुन्छ भन्ने कुराको चेतना नआएसम्म जंगली च्याउ खाएर ज्यान जाने गरेका घटनामा कमी आउँदैन । च्याउलाई विशेषगरि तरकारीका रूपमा प्रयोग गरिन्छ । यसका साथै औषधि र कतै–कतै सुकुटीका रूपमा पनि प्रयोग गरिन्छ । यसलाई पहिचान गरि कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सक्ने हो भने यसबाट हुने क्षति रोक्न सकिन्छ । च्याउखेतीका वास्तविकताहरू सर्वसाधारणमा बुझाउन कृषि विज्ञहरूले आगामी दिनमा रचनात्मक भूमिका निर्वाह गर्नु जरुरी छ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १५, मंगलवार ०६:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP