• २०८३ भाद्र २६ | Fri, 11 Sep 2026

जैशिथोकमा फस्टाउँदै तर्बुजा खेती: किसान काँशीनाथ न्यौपानेको मिहेनतले देखायो व्यवसायिक सम्भावना

जैशिथोकमा फस्टाउँदै तर्बुजा खेती: किसान काँशीनाथ न्यौपानेको मिहेनतले देखायो व्यवसायिक सम्भावना

ज्ञानमणि नेपाल कालाेटाेपी
मण्डनदेउपुर । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–११, जैशिथोकका परिश्रमी किसान काँशीनाथ न्यौपानेले तर्बुजा खेतीमार्फत गाउँमै व्यवसायिक कृषिको सम्भावना उजागर गर्नुभएको छ । करिब ३ रोपनी जग्गामा ५० हजार रुपैयाँको प्रारम्भिक लगानीमा सुरु गरिएको तर्बुजा खेतीबाट अहिले व्यवसायिक उत्पादन सुरु भएपछि स्थानीयस्तरमै यसको चर्चा हुन थालेको छ ।

वैदेशिक रोजगारी र शहरमुखी बसाइँसराइका कारण गाउँका खेतबारी बाँझो बन्दै गएको अवस्थामा न्यौपानेले भने कृषि नै आत्मनिर्भरता र आर्थिक समृद्धिको आधार बन्न सक्ने सन्देश दिनुभएको छ । सीमित लगानी र आफ्नै मिहेनतबाट सुरु गरिएको तर्बुजा खेती अहिले राम्रो उत्पादनतर्फ उन्मुख रहेको उहाँ बताउनुहुन्छ ।

जैशिथोकको हावापानी र माटो तर्बुजा खेतीका लागि उपयुक्त रहेको भन्दै न्यौपानेले आगामी वर्ष खेतीको क्षेत्रफल अझ विस्तार गर्ने योजना बनाएको जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा ताजा र स्थानीय उत्पादनको माग उच्च रहेकाले उचित मूल्य पाएमा यस खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास रहेको छ । स्थानीयवासीहरू पनि काँशीनाथ न्यौपानेको मिहेनत र सफलताबाट प्रेरित भएका छन् । कृषिमा आधुनिक सोच र व्यवसायिक दृष्टिकोण अपनाए गाउँमै बसेर सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ ।

काँशीनाथले कृषिमै भविष्य देख्न थाल्नु भएकाे तीन दशक जति भयाे । उहाँले शुरूवातमा गाेलभेँडा, काउली, बाेडी, भण्टा, करेला, काँक्रा लगायतका तरकारीहरूकाे व्यवसायिक खेती गर्नुभएकाे थियाे । यसबाट सफलता पाएपछि उहाँले नयाँ खेतीका रूपमा यस वर्ष तरबुजा र खरबुजाकाे खेती थाल्नु भएकाे हाे । ‘पहिलाे पटकमै उत्पादन राम्राे छ तर कमाइ कस्ताे हुन्छ अहिले नै भन्न सकिँदैन ।’ उहाँले भन्नुभयाे ।

कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यस्ता परिश्रमी किसानहरूको भूमिका महत्वपूर्ण रहने स्थानीयवासीहरूको भनाइ छ । जैशिथोकमा फस्टाउँदै गएको तर्बुजा खेतीले अब अन्य किसानलाई समेत नयाँ सम्भावना र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ३, बुधबार ०६:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP