• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

जनताको आदेश: जिम्मेवारी, आत्मसमीक्षा र सुधारकाे अवसर

जनताको आदेश: जिम्मेवारी, आत्मसमीक्षा र सुधारकाे अवसर

  • श्याम शर्मा एल.सि

जनताले व्यक्त गरेको मत लोकतन्त्रको अन्तिम र सर्वमान्य आधार हो । लोकतान्त्रिक व्यवस्थामा शक्ति कुनै व्यक्ति, दल वा संस्थामा होइन, अन्ततः जनतामै निहित हुन्छ।

त्यसैले निर्वाचनमार्फत अभिव्यक्त भएको जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्नु प्रत्येक राजनीतिक शक्ति, नेता तथा कार्यकर्ताको नैतिक र राजनीतिक दायित्व हो । हालैको निर्वाचन परिणामले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आफ्नो विश्वास र अपेक्षा व्यक्त गरेका छन् । यो विश्वास केवल विजयको प्रतीक मात्र होइन, जिम्मेवारी र उत्तरदायित्वको ठूलो दायित्व पनि हो। जनमतको कदर गर्दै देश र जनताको हितमा परिणाममुखी कार्य गर्नु अब उक्त पार्टीको प्रमुख कर्तव्य हुनेछ ।

नेपाल अहिले विविध जटिल चुनौतीहरूबाट गुज्रिरहेको छ । आर्थिक मन्दीको दबाब, बढ्दो बेरोजगारी, विकास निर्माणको सुस्त गति, तथा राज्यप्रति नागरिकको बढ्दो निराशा । यस्तो परिस्थितिमा जनताले नयाँ विकल्पप्रति आशा राख्नु र परिवर्तनको अपेक्षासहित समर्थन गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया हो। लोकतन्त्रको सुन्दर पक्ष नै यही हो कि जनमत स्थिर र स्थायी हुँदैन, यो समय, कार्यक्षमता, उत्तरदायित्व र जनताप्रतिको व्यवहारका आधारमा निरन्तर रूपान्तरण भइरहन्छ। हिजोको जनमत आज फेरिन सक्छ, र आज प्राप्त भएको जनसमर्थन पनि भोलि कायम रहन्छ कि रहँदैन भन्ने कुरा शासन, कार्यशैली र परिणाममा निर्भर हुन्छ।

निर्वाचनमा जीत र हार दुवै लोकतान्त्रिक प्रक्रियाका अविभाज्य अङ्ग हुन्। जितले जिम्मेवारीको बोध गराउँछ भने हारले आत्मसमीक्षा र सुधारको अवसर प्रदान गर्छ। यही आत्मसमीक्षाबाट लोकतान्त्रिक संस्थाहरू परिपक्व बन्छन् र राजनीतिक संस्कार बलियो हुँदै जान्छ। नेपाली कांग्रेस जस्तो ऐतिहासिक परम्परा बोकेको तथा लोकतान्त्रिक मूल्य र आदर्शमा आधारित पार्टीले पनि यस परिणामलाई गम्भीर आत्ममूल्यांकनको अवसरका रूपमा ग्रहण गर्नेछ भन्ने अपेक्षा स्वाभाविक छ।

विगतका विभिन्न राजनीतिक मोडहरूमा नेपाली कांग्रेसले लोकतन्त्र स्थापनादेखि संवैधानिक व्यवस्था निर्माणसम्म महत्त्वपूर्ण योगदान पुर्‍याएको इतिहास सबैलाई स्मरणीय छ। तर लोकतन्त्रमा इतिहास मात्र पर्याप्त हुँदैन जनताको वर्तमान अपेक्षा र भविष्यको दृष्टिकोणलाई आत्मसात् गर्दै निरन्तर सुधार र नवीकरण आवश्यक हुन्छ। यही आत्मपरिवर्तन, संगठनात्मक सुदृढीकरण र जनतासँगको प्रत्यक्ष सम्बन्ध सुदृढ बनाउने प्रक्रियामार्फत नेपाली कांग्रेस अझ परिपक्व, उत्तरदायी र सक्षम राजनीतिक शक्तिका रूपमा पुनः उदाउने विश्वास धेरैको मनमा जीवित छ।

अन्ततः लोकतन्त्र स्थायी विजय वा स्थायी पराजयको खेल होइन, यो निरन्तर विश्वास जित्ने र त्यसलाई कायम राख्ने प्रतिस्पर्धात्मक प्रक्रिया हो। जनताको विश्वास प्राप्त गर्नु जति महत्त्वपूर्ण छ, त्यसलाई व्यवहार, परिणाम र उत्तरदायित्वद्वारा जोगाइराख्नु त्यति नै महत्त्वपूर्ण हुन्छ। त्यसैले आजको जनमतलाई सम्मान गर्दै, राष्ट्रको समृद्धि, स्थिरता र सुशासनका लागि सबै राजनीतिक शक्तिहरूले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नु आवश्यक छ।

समयसँगै आत्मसुधार गर्दै, नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र जनमुखी एजेन्डासहित नेपाली कांग्रेस पुनः जनविश्वासको केन्द्रमा स्थापित हुनेछ भन्ने विश्वास लोकतन्त्रमा आस्था राख्ने सबैको साझा अपेक्षा हो।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २३, शनिबार १३:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP