ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे । काभ्रेको पनौती नगरपालिका र चौंरीदेउराली गाउँपालिकालाई एकै दिन यस आर्थिक वर्षका लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । बुधबार पनौतीका प्रमुख एवं पालिकास्तरीय खोप समितिका संयोजक रामशरण भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दिपक गौतमको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी पनौती नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । यो पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिकामध्ये जिल्लामै सातौं नम्बरमा परेको छ ।
यसवर्ष नमोबुद्ध नगरपालिका पहिलो भयो भने मण्डनदेउपुर नगरपालिका दोस्रो, भुम्लु गाउँपालिका तेस्रो र पाँचखाल नगरपालिका चौथो पालिका भएका छन् । यस्तै तेमाल गाउँपालिका पाँचौं, रोशी छैठौं, पनौती सातौं र चौंरीदेउराली आठौं पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकामा परेका छन् ।
यस कार्यमा सक्रिय भएर खट्नु हुने सबैलाई धन्यवाद दिँदै पनौतीको कार्यक्रमका प्रमुख अतिथी गौतमले पूर्णखोप सुनिश्चित गर्ने कार्य अन्त्य नभइ शुरुवात भएको बताउनुभयो । उहाँले रोगहरुलाई न्यूनिकरणका लागि बालबालिकालाई पूर्ण खोप लगाउन जरुरी रहेकोमा जोड दिँदै विगत केही वर्षयता नागरिकले आफ्नो र बालबालिकाको स्वास्थ्यमा धेरै ध्यान दिइरहेको उल्लेख गर्नुभयो । खोप लगाउने कार्यलाई सामान्य नठान्न आग्रह गर्दै उहाँले यसलाई निरन्तरता दिने गरि काम गर्न सम्बन्धित पक्ष र स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतिले जिल्लाका पालिका मध्ये पनौती सातौं पूर्णखोप पालिका भएको बताउँदै सबै सूचकहरु पूरा गरेर केही हप्ताभित्रै जिल्लाका सबै १३ वटै पालिकालाई यस अभियानमा अटाइने बताउनुभयो । उहाँले खोपको गुणस्तर बचाउनका लागि वातानुकुलित खोप केन्द्र बनाउनु पर्ने र यसमा पालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नगरप्रमुख रामशरण भण्डारीले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर नगरपालिका अघि बढिरहेको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख गीता बञ्जाराले कुनै पनि बालबालिका खोप पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यसहित नगरपालिका निरन्तर सक्रिय रहेको बताउनुभयो । यसवर्ष नगरभित्र रहेका १६ देखि २३ महिनासम्मका ५ सय ८४ बालबालिकालाई पूर्णखोप सुनिश्चित गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै बुधबार नै जिल्लाको कोशीपारीस्थित चौंरीदेउराली गाउँपालिकालाई पनि यसवर्षका लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । चौंरीदेउरालीमा १६ महिनादेखि २३ महिनासम्मका पूर्णखोप सुनिश्चित बालबालिकाको संख्या ५७ जना रहेको छ । यहाँ खोप लगाउने प्रक्रियामा रहेका १५ महिना मुनिका ८३ जना बालबालिका रहेका पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

बुधबार पालिका अध्यक्ष रेणुका चौलागाईं, जिल्ला जनस्वास्थ्य प्रतिनिधि पार्थमणि न्यौपाने, पालिका उपाध्यक्ष शेरबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर श्रेष्ठ, पालिकाका वडा अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख तेजबहादुर घिसिङलगायत सरोकारवालाहरुको उपस्थितीमा पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानेले नेपालमा हाल भइरहेका खोप अभियानहरु एकपछि अर्को सफल भइरहेको उल्लेख गर्दै राज्यले एकपटक एक जना बालबालिकालाई खोप लगाउँदा ७ हजार खर्च हुने र २३ महिनासम्म खोप लगाउँदा राज्यले प्रतिबालबालिका ५० हजार बढी लगानी गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित, प्रमुख अतिथि, विशेष अतिथि, जनप्रतिनिधि, स्वास्थ्यसँग सम्बन्धित सरोकारवालाहरुलगायतले हरेक बालबालिकाको खोप पाउने अधिकारलाई सुनिश्चित हुने गरि काम गर्ने प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गर्नुभएको थियो ।
प्रतिक्रिया