बनेपा । चालु आर्थिक वर्षकाे हालसम्म काभ्रेमा ५६ जना डेंगु सङ्क्रमित देखा परेका छन् । गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यो वर्ष साउन १ देखि जेठ ११ गतेसम्म ५६ जनामा सङ्क्रमण पुष्टि भएको हाे । जसमा धुलिखेलमा तीन जना, बनेपामा २६ जना, पनौतीमा एक, पाँचखालमा ९, मण्डनदेउपुरमा १५ जनामा सङ्क्रमण देखिएको छ । गत वर्ष बनेपामा धेरै सङ्क्रमित देखिएकाेमा यस वर्ष पनि सबैभन्दा बढी सङ्क्रमण बनेपामै देखिएको छ । विगत २४ घण्टामा मण्डनदेउपुरमा १ जनामा सङ्क्रमण पुष्टी भएकाे छ ।
यस्तै भुम्लुमा २ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। जिल्लामा सङ्क्रमितमध्ये पुरुषको संख्या २२ र महिलाको संख्या ३४ जना रहेको छ। नमाेबुद्ध, राेशी, खानीखाेला, तेमाल, बेथानचाेक, महाभारत र चाैरीदेउरालीमा भने हालसम्म कुनै पनि सङ्क्रमित भेटिएका छैनन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन, पानी जम्ने ठाउँहरू सफा राख्न र लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक रहेको जनाएको छ ।
ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया