• २०८३ जेष्ठ २९ | Fri, 12 Jun 2026

“मेरो स्वास्थ्य मेरो जिम्मेवारीः एक घण्टा मेरो लागि” अभियान अन्तर्गत धुलिखेलमा स्वास्थ्य शिविर

“मेरो स्वास्थ्य मेरो जिम्मेवारीः एक घण्टा मेरो लागि” अभियान अन्तर्गत धुलिखेलमा स्वास्थ्य शिविर

काभ्रेपलाञ्चोक । जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजनामा जेठ २५ गते साेमबार जिल्ला समन्वय समिति परिसरमा “मेरो स्वास्थ्य मेरो जिम्मेवारीः एक घण्टा मेरो लागि” अभियान अन्तर्गत मानसिक स्वास्थ्य प्रवर्द्धन तथा नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय तथा कर्मचारी मिलन केन्द्रको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मेथिनकोट अस्पताल, रेयुकाई मासुनागा आँखा अस्पताल तथा धुलिखेल नगरपालिका स्वास्थ्य शाखाले प्राविधिक सहयोग प्रदान गरेका थिए ।

शिविरको उद्घाटन जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको विशेष उपस्थिति रहेको थियो भने जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षता रहेको थियो ।

जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठ तथा जनस्वास्थ्य कार्यालयका कर्मचारीहरूको सहजीकरणमा सञ्चालन भएको शिविरमा राष्ट्रसेवक कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो। शिविरबाट कुल १६५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

शिविरमा मानसिक स्वास्थ्यसम्बन्धी परामर्श तथा जनचेतना अभिवृद्धि, उच्च रक्तचाप परीक्षण, तौल तथा उचाइ मापन गरी बीएमआई निर्धारण, रगतमा चिनी परीक्षण, पिसाबमा सुगर तथा एल्बुमिन परीक्षण, चिकित्सकद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श, आयुर्वेदिक स्वास्थ्य परामर्श तथा रियुकाई मासुनागा आँखा अस्पतालबाट आँखा परीक्षण सेवा उपलब्ध गराइएको थियो। साथै आवश्यक सेवाग्राहीलाई निःशुल्क चश्मासमेत वितरण गरिएको थियो।

कार्यक्रमले मानसिक स्वास्थ्य तथा नसर्ने रोगहरूको समयमै पहिचान, जोखिम मूल्याङ्कन र स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ। नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, शारीरिक गतिविधि तथा मानसिक स्वास्थ्यप्रति सचेत रहन सके उच्च रक्तचाप, मधुमेह, मुटुरोग लगायतका नसर्ने रोगहरूको जोखिम न्यूनीकरण गर्न सकिने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको थियो।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २५, सोमबार २१:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP