तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले पर्यटकीय तथा सांस्कृतिक महत्वका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ ।
पालिकाका अनुसार वडा नं. ६ मा गत फागुन २० गतेदेखि २०८३ जेठ २० गतेसम्म महत्वपूर्ण पर्यटकीय तथा सांस्कृतिक स्थलहरूमा सञ्चालन गरिएको Free Wi-Fi Zone परीक्षण सफल भएपछि स्थानीयवासीबाट थप स्थानहरूमा समेत सेवा विस्तार गर्न सुझाव, माग तथा परामर्श प्राप्त भएको थियो । सोही अनुरूप पालिकाले थप विभिन्न स्थानमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
नयाँ रूपमा Free Wi-Fi Zone स्थापना गरिएका स्थानहरूमा साबिक वडा नं. १ को पकुवाल बुद्धपार्क, साबिक वडा नं. २ को वडा कार्यालय परिसर, साबिक वडा नं. ३ को छोर्दोन म्हाने, साबिक वडा नं. ४ को पञ्चबुद्ध पुर्गाडाँडा, साबिक वडा नं. ५ को देउराली डाँडा रहेका छन् । यस्तै साबिक वडा नं. ६ को रातमाटे पञ्चकन्या मन्दिर डाँडा, साबिक वडा नं. ७ को छापा मगर सामुदायिक भवन, साबिक वडा नं. ८ को छापाधार वाङ्तेन म्हाने तथा साबिक वडा नं. ९ को सिङ्गटी छोर्दोन म्हाने रहेका छन् ।
पालिका कार्यालयले पर्यटक, विद्यार्थी, स्थानीयवासी तथा विभिन्न सामाजिक तथा धार्मिक गतिविधिमा सहभागी हुने व्यक्तिहरूलाई सहजरूपमा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा विस्तार गरिएको जनाएको छ ।
साथै आगामी दिनमा आवश्यकताका आधारमा अन्य सार्वजनिक तथा पर्यटकीय स्थलहरूमा समेत निःशुल्क वाइफाइ सेवा विस्तार गरिने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया