काभ्रे । मण्डनदेउपुर नगरपालिकामा सक्रिय क्षयरोग (टीबी) पहिचान अभियान अन्तर्गत सञ्चालन गरिएको निःशुल्क छाती एक्स–रे शिविर सम्पन्न भएको छ ।
जन्त्र नेपालसँगको सहकार्यमा आयोजित शिविर जेठ २९ गते मण्डनदेउपुर नगरपालिका–११ स्थित जैसिथोक स्वास्थ्य चौकी तथा जेठ ३० गते मण्डनदेउपुर–२ स्थित बालुवापाटी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
शिविर अन्तर्गत जैसिथोक स्वास्थ्य चौकीमा २४० जनाको स्वास्थ्य परीक्षण तथा छातीको एक्स–रे गरिएकोमा १ जनामा क्षयरोग पुष्टि भएको छ । त्यसैगरी बालुवापाटी स्वास्थ्य चौकीमा करिब १८० जनाको परीक्षण गर्दा १ जनामा क्षयरोग पहिचान भई उपचार प्रक्रिया सुरु गरिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
शिविरमा क्षयरोगका शंकास्पद बिरामीहरूको खकार नमुना संकलन गर्नुका साथै सेवाग्राहीहरूको रक्तचाप, रक्तमा चिनीको मात्रा (ब्लड सुगर), उचाइ तथा पिसाब परीक्षणसमेत गरिएको थियो । यस अभियानले समुदायस्तरमै क्षयरोगको प्रारम्भिक पहिचान र समयमै उपचारमा सहयोग पुगेको नगरपालिकाको भनाइ छ ।
मण्डनदेउपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेका अनुसार शिविर सफल बनाउन जैसिथोक र बालुवापाटी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, विभिन्न स्वास्थ्य संस्थाका कर्मचारी, जन्त्र नेपालबाट खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण योगदान रहेको थियो । उहाँले शिविर व्यवस्थापनमा सहयोग पुर्याउने सबैप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

नगरपालिकाले यस्ता स्वास्थ्य अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै समुदायमा क्षयरोग नियन्त्रण तथा जनस्वास्थ्य प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
प्रतिक्रिया