काठमाडौँ । काठमाडौँ महानगरपालिका-११ भोटेबहालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ६ सय ५० ट्याब्लेट र नगद ३५ हजार ३ सय ५० रूपैयाँसहित सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-११ घर भएका २६ वर्षीय अनिल गिरीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.६४ प ५०९२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ हेटौंडाबाट अवैध लागूऔषध अफिम (चोप) ४ किलो ४ सय २० ग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-४ घर भएका ५४ वर्षीय राजकुमार लामा र हेटौंडा उपमहानगरपालिका-१५ घर भएका ४० वर्षीय राजकुमार तितुङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ मानस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-१७ कान्छी चोक बस्ने २५ वर्षीय निशान कार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम १ सय ४० मिलिग्राम र नगद २४ हजार ८ सय ५० रूपैयाँसहित सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय सचिन नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-११ डोक्रेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५१ मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय मानव बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम र नगद ४ हजार रूपैयाँसहित मधुवन नगरपालिका-५ ताराताल बस्ने २८ वर्षीय खगेन्द्र शाहीलाई शुक्रबार राति पक्राउ गरेको छ । प्रहरी चौकी कालिका समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-८ चादनी चोकस्थित राठोर मेडिकल स्टोरबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय ५० ट्याब्लेटसहित मेडिकल स्टोर संचालक सोही ठाउँ बस्ने ४५ वर्षीय बिमलेससिंह राठोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्झनाबाट खटिएको प्रहरीले मेडिकल स्टोर तलासी गर्दा उक्त लागूऔषध फेला उनलाई पक्राउ गरेको हो ।
यसैगरी बाँके, जानकी गाउँपालिका-६ पिप्रहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१४ ढोडपुर बस्ने २६ वर्षीय कमलेश खटीक र जानकी गाउँपालिका-६ बस्ने ४८ वर्षीय सभान अली रहेका छन् । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ७० मिलिग्रामसहित कोहलपुर नगरपालिका-१३ बस्ने २८ वर्षीय रघु थारूसमेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-८ बस्ने २७ वर्षीय अरूण चौधरी र २७ वर्षीय धनप्रसाद अधिकारी रहेका छन् । प्रहरी चौकी कालाकुण्डा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
भक्तपुर, आफ्नै आमा ४० वर्षीया मेघिया चौधरीको हत्या गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-९ भातेढिकुर चोक बस्ने उदयपुर कटारी नगरपालिका-५ घर भएका २४ वर्षीय किरण चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । किरणले कुटपिट गर्दा मेघिया गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । गम्भीर घाइते भएकी मेघियाको पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नवलपरासी पश्चिम, ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका-१२ बस्ने ५१ वर्षीय रामबहादुर सुनारलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । राम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२६ बस्ने बारा घर भएका ४१ वर्षीय गगनबहादुर स्याङतान, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही घर भएका २८ वर्षीय निर्जल बस्नेत र काठमाडौं टोखा नगरपालिका-५ बस्ने दाङ घर भएका ३२ वर्षीय बलबहादुर चन्द ठकुरी रहेका छन् ।
पक्राउ मध्ये गगनबहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ४ लाख ३० हजार रूपैयाँ, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९० हजार रूपैयाँ र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गगन बहादुरलाई काठमाडौं महानगरपालिका-३ बाट बिहीबार तथा निर्जललाई ललितपुर महानगरपालिका-३ बाट र बल बहादुरलाई काठमाडौं महानगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया