• २०८३ भाद्र ५ | Fri, 21 Aug 2026

मण्डनदेउपुर नगरपालिकाले एक वर्षमा स्वास्थ्य क्षेत्रमा के-के गर्‍यो प्रगति ?

मण्डनदेउपुर नगरपालिकाले एक वर्षमा स्वास्थ्य क्षेत्रमा के-के गर्‍यो प्रगति ?

मण्डनदेउपुर (काभ्रे) । मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा नेपाल सरकार र बागमती प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान बाहेक आफ्नै स्रोतबाट सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम प्रभावकारीरूपमा सम्पन्न गरेको जनाएको छ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेका अनुसार नागरिकलाई सहज, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएका कार्यक्रमले सकारात्मक नतिजा दिएका छन् । उहाँका अनुसार मण्डनदेउपुर आधारभूत अस्पतालबाट स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सञ्चालनमा आएको छ । त्यस्तै, मोतियाबिन्दु पहिचानका लागि सबै स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरी पहिचान भएका १०५ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

नगरपालिकाले बागमती प्रदेशकै पहिलो वातानुकूलित खोप केन्द्र सञ्चालनमा ल्याएको छ भने नेपालकै पहिलो पूर्णखोप सुनिश्चित विद्यालय भएको पालिका घोषणा हुने उपलब्धि पनि हासिल गरेको छ । ‘नगरप्रमुख ज्येष्ठ नागरिक स्वास्थ्य जाँच’ कार्यक्रमअन्तर्गत करिब ११ हजार ३७८ जना ज्येष्ठ नागरिकको उच्च रक्तचाप, मधुमेह, पिसाबमा प्रोटिन तथा उचाइअनुसार तौल परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । हाल १० शय्याको नगर अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । जनस्वास्थ्य कार्यालयको सहयोगमा १३ जना नयाँ महिला स्वास्थ्य स्वयंसेविकालाई आधारभूत तालिम तथा २० जनालाई पुनर्ताजगी तालिम प्रदान गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग (Chronic Respiratory Disease) विषयमा ४४ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । तालिमपछि निकट भविष्यमै रोगको स्क्रिनिङ तथा उपचार सेवा सुरु गरिने तयारी गरिएको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा ३० देखि ६० वर्ष उमेर समूहका महिलाको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर परीक्षण वडा नं. ६, ९, १०, ११ र १२ मा सम्पन्न भएको छ । बाँकी वडामा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

यस्तै, जन्त्र नेपाल (Jantra Nepal) को सहयोगमा क्षयरोग पहिचानका लागि चार स्थानमा एक्स–रे शिविर सञ्चालन गरी आठ जना बिरामी पहिचान गरिएको र उनीहरूको उपचार सुरु गरिएको छ । खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन WHO को सहयोगमा Geo-enabled Microplanning on National Immunization Programme सुरु गरिएको छ । यसमा नगरपालिकाका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी सहभागी भएका छन् ।

त्यसैगरी, गर्भवती महिलाका लागि वडास्तरीय स्वास्थ्य संस्थाबाट घुम्ती भिडियो एक्स–रे सेवा, विद्यालय नर्स तथा स्वास्थ्यकर्मीमार्फत विद्यालय स्वास्थ्य शिक्षा र विद्यार्थी स्वास्थ्य परीक्षण, सुत्केरी महिलालाई पोषण खर्च वितरण, महिला स्वास्थ्य स्वयंसेविकाका लागि मानसिक स्वास्थ्य तालिम, स्वास्थ्यकर्मीका लागि दुई दिने मनोपरामर्श तालिम तथा पोषण गृह नेपाल, सुनाकोठीसँगको सहकार्यमा पोषण जाँच शिविर समेत सञ्चालन गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख घिमिरेले यी कार्यक्रम सञ्चालनका लागि आवश्यक आर्थिक व्यवस्थापन, हौसला र मार्गदर्शन प्रदान गर्ने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका परिवारप्रति आभार व्यक्त गर्नुभएकाे छ । साथै कार्यक्रम सफल बनाउन निरन्तर खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी, विद्यालय नर्स तथा कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्नुभएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २, शनिबार २१:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP