काठमाडौं । विश्व सुर्तीजन्य पदार्थरहित दिवस २०२६ (मे ३१) विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। यस वर्षको दिवसका लागि World Health Organization ले “आकर्षणको आवरण हटाऔं — निकोटिन र सुर्तिजन्य पदार्थको लतविरुद्ध लडौं” (Unmasking the appeal – Countering nicotine and tobacco addiction) भन्ने मुख्य नारा तय गरेको छ।
यस वर्षको अभियान विशेषगरी युवापुस्तालाई लक्षित गरी सुर्ती तथा निकोटिन उद्योगहरूले प्रयोग गर्ने आकर्षक प्याकेजिङ, विभिन्न स्वाद (फ्लेभर) तथा बजार प्रवर्द्धनका रणनीतिहरूको वास्तविकता उजागर गर्न केन्द्रित रहेको छ। यस्ता रणनीतिहरूले युवाहरूलाई सुर्ती तथा निकोटिनजन्य पदार्थको प्रयोगतर्फ आकर्षित गर्ने भएकाले त्यसको जोखिमबारे सचेतना फैलाउने उद्देश्य अभियानको रहेको छ।
दिवसको अवसरमा सबै नागरिकलाई सुर्ती तथा निकोटिनजन्य पदार्थको सेवनबाट टाढा रहन तथा स्वस्थ जीवनशैली अपनाउन आग्रह गरिएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगले मुटुरोग, क्यान्सर, मधुमेह, दीर्घरोग, श्वासप्रश्वाससम्बन्धी रोग लगायत विभिन्न नसर्ने रोगहरूको जोखिम बढाउँछ।
धूम्रपान वा सुर्ती सेवन गर्ने व्यक्ति मात्र नभई उनीहरूका परिवारका सदस्य, बालबालिका तथा गर्भवती महिलाहरू पनि यसको हानिकारक असरबाट प्रभावित हुने भएकाले यसको प्रयोग नियन्त्रण गर्न आवश्यक रहेको बताइएको छ।
विश्व सुर्तीजन्य पदार्थरहित दिवसले प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्न, सुर्ती सेवन त्याग्ने वा सुरु नै नगर्ने प्रतिबद्धता गर्न प्रेरित गर्ने विश्वास गरिएको छ। सुर्ती सेवन गर्ने व्यक्तिलाई आजै त्याग्ने निर्णय लिन तथा परिवार, साथीभाइ र समुदायले त्यस्ता व्यक्तिलाई आवश्यक सहयोग र हौसला प्रदान गर्न पनि आग्रह गरिएको छ।
विशेषगरी युवापुस्तालाई सुर्ती तथा निकोटिनजन्य पदार्थको लतबाट जोगाउन अभिभावक, शिक्षक तथा समुदायको भूमिका महत्वपूर्ण रहने भन्दै सचेतना र सहयोगका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।
प्रतिक्रिया