• २०८३ श्रावण १४ | Thu, 30 Jul 2026

डा. दिलबहादुरको सेवा यात्राः आमाको प्रेरणाबाट अस्पताल सञ्चालन, हजाराैं बिरामीकाे आस्थाकाे केन्द्र

डा. दिलबहादुरको सेवा यात्राः आमाको प्रेरणाबाट अस्पताल सञ्चालन, हजाराैं बिरामीकाे आस्थाकाे केन्द्र

ज्ञानमणि नेपाल कालाेटाेपी
काभ्रे । हिमालयको काखमा फैलिएका दुर्गम पहाडी बस्तीहरूमा स्वास्थ्य सेवा अझै पनि ठूलो चुनौती बनेको छ । वर्षायाममा निरन्तर पर्ने वर्षाले सडक अवरुद्ध हुने, पहिरोले यातायात ठप्प पार्ने र कुहिरोले ढाकिएका कठिन भूभागका कारण बिरामीहरू समयमै उपचारबाट वञ्चित हुने अवस्था अहिले पनि विद्यमान छ । राजधानी काठमाडाैंसम्म उपचारका लागि पुग्नुपर्ने बिरामीहरूले दिनहुँ जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता झेलिरहेका छन् । कतिपय अवस्थामा उपचारको अभावले जीवन नै संकटमा पर्ने गरेको छ ।

यही यथार्थलाई परिवर्तन गर्ने दृढ संकल्पका साथ चिकित्सक डा. दिलबहादुर तामाङले आफ्नो जीवन दुर्गम समुदायको स्वास्थ्य सेवामा समर्पित गर्नुभएको छ । उहाँद्वारा स्थापित कान्छीमाया तामाङ स्मृति सामुदायिक अस्पताल आज दुर्गम क्षेत्रका नागरिकका लागि केवल उपचार केन्द्र मात्र नभई आशा, सेवा र मानवताको प्रतिक पनि बनेको छ ।

अस्पतालको नाम उहाँकी स्वर्गीय आमा कान्छीमाया तामाङको स्मृतिमा राखिएको हो । डा. तामाङका अनुसार यो नाम केवल सम्झनाको प्रतिक होइन, आमाले सिकाउनुभएको माया, करुणा, त्याग र सेवाभावलाई समाजमा जीवित राख्ने प्रतिबद्धताको अभिव्यक्ति पनि हो । कान्छीमाया तामाङ सामान्य परिवारकी भए पनि असाधारण सेवाभाव भएकी महिला हुनुहुन्थ्यो । उहाँले गाउँका महिलालाई संगठित गरी कृषि उत्पादनमा जोड्ने, उनीहरूको आर्थिक अवस्था सुदृढ बनाउने र आत्मनिर्भर बनाउन प्रेरित गर्ने काम गर्नुभएको थियो । आवश्यकतामा परेकाहरूको सहयोग गर्नु उहाँको जीवनको मूल मन्त्र बनेको थियो ।

उहाँकै प्रेरणाले डा. दिलबहादुर तामाङले चिकित्सक बनेपछि आफ्नो पेशालाई सेवासँग जोड्नुभयो । आर्थिकरूपमा विपन्न परिवारका विद्यार्थीहरूको अध्ययनमा सहयोग गर्दै भविष्यमा उनीहरूलाई स्वास्थ्य क्षेत्रमा योगदान दिन सक्षम बनाउने अभियान पनि उहाँले निरन्तर अघि बढाइरहनुभएको छ । डा. तामाङको सेवाभावले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परोपकारी व्यक्ति र संस्थाहरूलाई समेत आकर्षित गरेको छ । विभिन्न देशका सहयोगीहरूको सहकार्यमा दुर्गम क्षेत्रमा आधुनिक स्वास्थ्य उपकरण, औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्य भइरहेको छ । साथै, नेपालको विभिन्न हिमाली तथा पहाडी जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै हजारौं नागरिकलाई उपचार सेवा प्रदान गरिँदै आएको छ ।

उहाँको अभियान उपचारमा मात्र सीमित छैन । दीर्घकालीन स्वास्थ्य सुधारका लागि स्वास्थ्य शिक्षा र पोषण प्रवर्द्धनलाई पनि समान प्राथमिकता दिइएको छ । स्वयंसेवकहरूको टोलीसँग मिलेर विद्यालय तथा समुदायमा पुगेर मोरिङ्गा (सहजन) को पोषण महत्व, यसको खेती तथा प्रयोगबारे जनचेतना फैलाउने अभियान सञ्चालन भइरहेको छ । यसबाट कुपोषण न्यूनीकरण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा समुदायलाई आत्मनिर्भर स्वास्थ्य व्यवस्थातर्फ प्रेरित गर्ने लक्ष्य लिइएको छ ।

भविष्यको योजनाबारे डा. दिलबहादुर तामाङ भन्नुहुन्छ, “मेरो सपना नेपालका दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा आगामी वर्षहरूमा कम्तीमा १० वटा सामुदायिक अस्पताल स्थापना गर्ने हो । साथै, आर्थिकरूपमा कमजोर परिवारका विद्यार्थीलाई निरन्तर सहयोग गर्दै सेवाभावी, सक्षम र करुणाशील स्वास्थ्यकर्मी तयार पार्ने हाम्रो लक्ष्य रहनेछ ।” उहाँकी आमा कान्छीमाया तामाङले जीवनभर दोहोर्‍याउने एउटा वाक्य आज पनि उहाँको अभियानको मूल प्रेरणा बनेको छ— “अरूको जीवनमा उज्यालो छर्ने जीवन नै सबैभन्दा मूल्यवान जीवन हो।”

आज डा. दिलबहादुर तामाङ र उहाँको टोलीले त्यही आदर्शलाई व्यवहारमा उतार्दै हिमालयका दुर्गम बस्तीहरूमा स्वास्थ्य, आशा र मानवताको ज्योति फैलाइरहेका छन् । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारको यो अभियानले उपचार मात्र होइन, हजारौं नागरिकको जीवनमा नयाँ भरोसा र भविष्यको आशा पनि जगाइरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ३, आईतवार १०:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP